असार २२, २०८३ सोमबार

रुपेश आचार्य

कीर्तिपुर (काठमाडौँ), २२ असारः “जनसङ्ख्या पुग नपुग तीन करोड । गनेरै नसकिने सांस्कृतिक र प्राकृतिक सम्पदा । खान नपाएर वा बास नभएर तड्पिनुपर्ने हो र यो देश ? जब कि प्रत्येक नेपालीले अन्तरराष्ट्रिय मुद्रा कमाउन सक्ने अवस्था यहीँ छ ।”

करिब १६ वर्षदेखि मौलिक नेवारी तथा नेपाली खानालाई मुख्य आधार बनाएर कीर्तिपुरमा स्थापना गरेको ससःत्वालाई विश्वभर चिनाउन सफल फिरोज सिंह प्रश्न गर्नुहुन्छ । त्यसको जवाफ पनि उहाँसँगै छ, ‘मौलिक सम्पदा र संस्कृतिको संरक्षण र समृद्धिका लागि तिनको प्रयोग’ । उहाँको मनसाय भएका पुरातात्विक सम्पदा जोगाउने मात्र होइन, नयाँ बन्ने कुरा र अहिलेको दिनचर्यामै मौलिक वस्तुहरुको प्रयोग । 

फिरोज आफैँले ससःत्वामार्फत यसको गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ । कीर्तिपुरमा विदेशी पर्यटक, विदेशिएका नेपाली र आन्तरिक पर्यटकलाई मौलिक परिकार, मौलिक शैलीमै चखाएर प्रश्नको जवाफ मात्र होइन, गतिलो उदाहरण समेत पेस गर्दै हुनुहुन्छ उहाँ । कीर्तिपुर डाँडाको दक्षिण पश्चिम फेदीमा रहेको ससःत्वा नवयुवादेखि ७५ वर्षसम्मका लागि डेढ सयभन्दा बढीलाई रोजगारी त दिएकै छ, साथमा ललितपुरका सुकुल बुन्ने, भक्तपुरका कुमाले र परम्परागत खाद्यवस्तु बनाउन जान्ने असङ्ख्यलाई आम्दानीको बाटो समेत बनाइदिएको छ । त्यसमा ७० वर्ष नाघेका हुक्काचिलिम बनाउने जान्ने जेष्ठ नागरिकदेखि मासुका नेवारी परिकारमा पोख्त नवयुवाहरु समेत छन् । 

फिरोजको शब्दमा ‘विदेशी उत्पादन किनेर आफ्नो कमाई त्यतै खर्च गर्ने बानी लागेका’ नेपालीलाई नेपाली शैली, नेपाली उत्पादन र नेपाली बन्दोबस्तीका सामान प्रयोग गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण ससः त्वाले प्रस्तुत गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ताले नचिनेका र झण्डै लोप हुन लागिसकेका ऐतिहासिक, सांस्कृतिक र मौलिक भाँडाकुँडा, खानेकुरा, वेशभूषा र रहनसहन समेत ससःत्वामा राम्ररी प्रयोग भइरहेको छ । 

त्यहाँ पुग्ने प्रत्येक मानिसले ढोकैदेखि आफू कुनै रेष्टुराँमा नभई मल्लकालीन सम्पदा क्षेत्रमा पसेको महसुस गर्छ । प्रवेश ढोकादेखि त्यहाँ स्वागतार्थ उभिने हाकुपटासीलगायतका मौलिक पहिरनमा सजिएका कर्मचारी, अथितिलाई दिइने नेवारी परम्पराअनुसार अण्डा, माछा आदिको सगुन, सुकुलमाथि ओच्छ्याइएका चकटी र खानाको टेबुलमा सजिएका हरेक परम्परागत वस्तुले त्यो भावमा पु¥याउँछन् । मध्यकालदेखि नै नेवारी चलनमा रहेका तर अहिले भक्तपुरमा समेत प्रयोगमा आउन छोडेको माटाका भाँडा त्यहाँ प्रयोग भइरहेका छन् । 

बस्ने ठाउँ नै पनि ससःत्वाको पूरै निर्माण मौलिक कला बोकेका काठ माटो र इँटाको बाक्लो गारो काठका दलिन र निदालअर्थात् सबै चिज मौलिक खालको छ । त्यहाँ कुनै भोजमा पुगियोस् वा नियमित खाना खाजाका लागि, बस्ने स्थान कि त शताब्दीयौँ पुराना शैलीका डबली हुन्छन्, कि त फल्चा । अनि बन्ने खानेकुरा पनि त्यस्तै नेवारी परम्पराअनुसार बनाइने सम्यबजी, छोइलादेखि छ्याङसम्म । हुक्का पनि चल्तीको आयातित होइन बाजेका पालाको गुडगुडे ।

ससःत्वा अर्थात् ससुराली टोल 

मौलिकता बोक्ने परिकार त्यहाँ गरिन सत्कारलाई फिरोजले नेपाल भाषाको बही चर्चित शब्द ‘ससः त्वा’ को नामाकरण गर्नु भएको हो । ससः अर्थात् ससुराली । “हाम्रो संस्कृतिमा रहेको ससुराली जाँदा ज्वाइँले पाउने आत्मिय स्वागत संसारका कुनै पनि सात तारे होटेलको भन्दा उच्च हुने भएकाले यो नाम छानिएको हो”, सिंह बताउनुहुन्छ । जसरी आफूसँग भए भएको मीठो परिकारले ज्वाईलाई दिन्छन्, त्यही रेष्टुरेन्टमा प्रवेश गर्दा ससुराली टोलमै आएको भाव हुने गरी ‘ससःत्वा’ नाम राखिएको छ । ज्वाईँ घरमा आएपछि स्वागतसँगै पस्किने स्वादिष्ट खानेकुरालाई ‘जिलाजँ कौलाः’ नाम दिइएको छ ससःमा । माथिल्लो भागमा अम्लेटले सजाइएको बारा, तारेको माछा, तारेको गिदी तथा मेरुदण्डको नसा र भुटन र साथमा ऐला अर्थात् परम्परागत मदिरा समेत । यसरी ज्वाइँलाई जसरी मेहेनत साथ परिकारहरु तयार गरेर पस्किने काम ससःत्वामा दैनिक भइरहेको छ । 

ससःत्वामा हरेक दिन विभिन्न ३५ प्रकारका नेवारी खानेकुरा तयार हुन्छ । मौलिक नेवारी भोजमा सुरुमै अर्थात् १० भन्दा बढी खानेकुरा हुनछन् भने मुख्य खानामा १८ बढी प्रकार । त्यो भोज खाने तरिका पनि मौलिक नै हुन्छ । त्यस्तो भोज हलभित्र गर्ने कि फल्चाहरुसहित मल्लकालीन शैलीको चोकमा खुला आकाशमुनि गर्ने कुरा ग्राहकले छनोट गर्न पाउँछन् । सबै गरेर एक साथ १२ सयभन्दा बढीलाई सत्कार गर्न सक्छ ससःत्वाले ।   

ससुराली जतिकै आत्मीय स्वागत, स्वाद र मौलिक वातावरणको स्वाद चाख्न विदेशी नागरिक, कैयौँ वर्ष सात समुद्रपार बिताएका नेपाली र स्वदेशमै आफ्नो दैनिक कामबाट केही फुर्सद निकालेर घुम्न निस्किने नेपालीहरु कीर्तिपुर पुग्ने गरेका छन् । हरेक दिन सामान्यतया सबैतिर नभेटिने खालका नेवारी परिकारहरुको स्वाद लिनका लागि सपरिवार वा साथीभाइको समूह नै त्यहाँ पुगेको देखिन्छ । “विदेशमै ससःत्वाबारे सुनेर मोबाइलमा ‘लोकेशन’ खोजी गर्दै यहाँ आउने थुपै्र हुन्छन् । कतिपयलाई त उनीहरुका साथीभाइ र परिवारले नेपाल घुम्न जाँदा एकपटक ससः त्वामा चाहीँ पुग्नु भनेका हुँदा रहेछन्”, सिंह भन्नुहुन्छ । 

हराइसकेका र नयाँ पुस्ताले नचिन्ने माटोका भाँडा, सुकुल र त्यस्तै सामग्रीको सजावटले ‘नोष्टाल्जिक’ बनाउने काम ससः त्वाले गरिरहेको छ । प्रवेश गर्नुअघि नै मौलिक शैलीको ढोका (ससः ध्वाखा)ले मौलिक रुपमै स्वागत गर्छ त्यहाँ पुग्नेलाई । त्यसपछि उनीहरुको आँखा पूरै मौलिक संरचना भएका ‘देग’(देवस्थल), फल्चा, दबू(डबली)मा आदिमा पर्छ । “विदेशीलाई पुराना दलिन, थामदेखि ससःको सम्पूर्ण संरचना नै मल्लकालीन नेपालको झलक दिँदो रहेछ”, उहाँ भन्नुहुन्छ ।  

ससः त्वा खडा गरिएको जमिन १६ वर्षअघिसम्म वर्षमा एक पटक धान आउने खेत मात्र थियो । अझ कीर्तिपुरको मुख्य बस्ती बाहिर कुडाककर्ट फ्याँक्ने ठाउँ बनेको थियो त्यो खेत । न त मुख्य आवतजावतको थलो, न कुनै बाक्लो बस्ती, न कुनै पुरानो संरचना केही पनि नभएको ठाउँमा २२ रोपनी जमिन किनेर पुराना शैलीका संरचना बनाउँदै ससः त्वा रेष्टुरेन्ट सुरु गर्दा छिमेकी र साथीभाइले ‘मुख्र्याइँपूर्ण’ काम भनेका थिए । व्यावसायिक हिसाबले ‘शतप्रतिशत जोखिमपूर्ण’ काम सुरु गरिएको उहाँ सम्झनुहुन्छ । 

त्यस्तो स्थानमा पूर्णतः परम्परागत संरचना र पाएसम्म स्वदेशमै निर्मित वस्तु जोरजाम गरेर परम्परागत तरिकारले नै तयार पारिएका नेवारी खाद्यवस्तु बेच्ने फिरोजको शैली जोखिमपूर्ण नै थियो । तर विस्मृतिमा जान लागेका र नयाँ पुस्ताले देख्दै नदेखेका थुप्रै वस्तुको प्रयोग गरिएको ससः त्वालाई मान्छेले विस्तारै मन पराउन थाले । यद्यपि, सुरुआतको केही समयमै भूकम्प, नाकाबन्दी र त्यसपछिको कोभिडले सोच्दै नसोचेको चुनौती ल्याइदियो । चुनौती झेल्दै कहिले भूकम्पपीडितलाई सहयोग, कहिले कोरोना महामारीका कारणले काम गर्न नपाएका मजदुर आदिलाई खाना, कहिले प्रहरीसमेतलाई सहयोग र बन्दाबन्दीकै कारण मान्छेले गतिविधि गर्न छोडेपछि सडकमा भोकै परका कुकुरलाई समेत खाना र पानी बाँड्नसमेत परेका ती दिनहरु उहाँ सम्झनुहुन्छ । 

जस्तोसुकै परिस्थिति किन नहोस्, व्यवसाय त अघि बढाउनै प¥यो । ‘किन मानिसहरु लामो समयसम्म टहरामा बस्ने बाध्य भए ?’ त्यो प्रश्नको उत्तर नपाउँदै कोभिड–१९ को समयमा काम गर्न नपाएर थुपै मानिस भोकै सुतेको कुराले उहाँको निद्रा बिथोलियो । त्यसैबेला एउटा समाचार आयो, ‘लकडाउनका बेला घर जान काठमाडौँबाट हिँडेकी एक गर्भवती महिलाले थानकोट नजिक पुग्ने बेलामा ज्यान गुमाइन् ।’ यो घटनाले फिरोजको मन नराम्ररी चिथोरियो । विदेशीलाई आकर्षित गर्नसक्ने सम्पदाको धनी भएर पनि नेपालीहरुमा चरम गरिबी र अभाव देखिनुको कारण अरु नभई आफूसँगै भएको गौरव गर्न लायक चिजवस्तुलाई संसारसामु प्रस्तुत गर्न नजान्दा नेपालीहरु गरिब बन्न पुगेको निस्कर्ष उहाँले निकाल्नुभयो । 

“पाएसम्म मौलिक चिजवस्तु नै प्रयोग गर्ने र खाना खाजामा मौलिक परिकार नै रोज्नुपर्छ । नेपालका मौलिक उत्पादनहरुलाई विश्वबजारमा ‘ब्राण्डिङ’ गर्ने हो भने हामीले हाम्रो गरिबी, अभाव र पछौटेपन देखाएर अरु देशसँग सहायता माग्नै पर्दैन”, उहाँ भन्नुहुन्छ । त्यसो गर्नसके स्वदेशी उत्पादनको खपत र त्यसले सिर्जना गर्ने प्रत्यक्ष अप्रत्यक्ष रोजगारी अत्यधिक हुने पनि उहाँको भनाइ छ । विदेशका कैयौँ ठाउँमा कृत्रिम झरना सिर्जना गरेर लाखौं डलर आम्दानी गरिहेको देखेका फिरोजको चित्त यहाँका शताब्दीयौँ पुराना मौलिक वस्तु, खाना र कला लोप हुने अवस्थामा पुगेको देख्दा कुँडिएको छ । 

नेपाल हेर्न आएको अमेरिकी नागरिकलाई पिज्जा र बर्गर खुवाउनेजस्तो काम यहाँ भइरहेको पनि उहाँ बताउनुहुन्छ । नकुँडियोस् पनि किन ? फिरोजले स्वदेशमा परम्परागत घर बनाउने डकर्मीको हातमा तास देख्नुभएको छ । काठका विभिन्न सीप भएका सिकर्मीहरु हराउन थालेका छन् । नयाँ पुस्ताले रोपाइँ भनेको थाहा नपाउने स्थिति छ । युवाहरु क्लबहरुमा जान्छन् तर आफ्नै धिमे, मादल, डम्फु र मुर्चुङ्गा चिन्दैनन् । फिरोजलाई लाग्छ, नेपालका हरेक समुदायसँग विश्वलाई देखाउने र बेच्न सक्ने थुप्रै गौरवका कुरा छन् । यी सबैको एउटा कोलाज एउटा फ्रेममा तयार गरेर नेपालीलाई आफ्नो परम्पराप्रति गर्व गर्न र त्यसलाई समृद्धिका लागि उपयोग गर्ने आह्वान गर्दै हुनुहुन्छ । 

स्वदेशमा पाइलापाइलामा भेटिने सम्पदालाई विश्वसामु चिनाउन अझै नपुगेको उहाँको भनाइ छ । आफूले ससः त्वामा पानीको भाँडादेखि एस्ट्रेसमेत पनि भक्तपुरको माटोको प्रयोग गरेर सानो प्रयास गरिहेको उहाँ बताउनुहुन्छ । “संसारका थुपै देश पुगियो । फर्केपछि थाहा भयो, हाम्रो देश गरिब होइन, मात्र ‘ब्राण्डिङ’ र बजारीकरण नभएको मात्र रहेछ”, उहाँ थप्नुहुन्छ । आफ्नोजस्तै मौलिकतामा आधारित रेष्टुराँ देशका थुपै ठाउँमा खुलुन् भन्ने चाहना उहाँको छ । त्यसो गर्नसके भक्तपुरका माटाका भाँडाहरु, ललितपुरका सुकुल, खोकनाका तेल कति बिक्थे होलान् ? काम पनि धेरैले पाउँथे होलान् ? भन्ने कुरामा उहाँ घोत्लिरहेको देखिनुहुन्छ । जे होस्, आफू कहाँ दिनकै सयौँको सङ्ख्यामा आइपुग्ने स्वदेशी र विदेशी ग्राहकलाई नेपाली मौलिक परम्परा चिनाउँदै गरेका फिरोज मौलिकतामा गर्व गर्ने र त्यसलाई आयआर्जनमा प्रयोग गर्न सकिन्छ भन्ने उदाहरणका दरिला पात्र बन्नुभएको छ ।