काठमाडौँ, २२ असारः सरकारले विभिन्न पर्यटकीय क्षेत्रलाई थप प्रवद्र्धन एवं व्यवस्थित बनाउने लक्ष्यसहितको विस्तृत योजना तयार गरेको छ ।
वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो खाका कार्यान्वयनमा ल्याउन लागेको हो ।
सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित दुई मुख्यभूत विषय समेट्एिको थियो । बुँदा नम्बर ७२ मा उदयपुर (कोशी नदी आसपास), अछाम (रामारोशन), बाजुरा बडिमालिका, अपी हिमाल ट्रेकिङ्ग रुट, दोर्दी हिमाल ट्रेकिङ्ग रुटलगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योग्य खाका प्रस्तुत गर्ने लक्ष्य राखिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यले मन्त्रालयले कार्ययोजना अनुसारको खाका तयार पार्ने काम भइसकेको जानकारी दिनुभयो ।
“शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा कोशी आसपासमा चतरा र वाराह क्षेत्रको धार्मिक सम्भावनाको साथसाथै अन्य बहुआयमिक सम्भावनाको क्षेत्रको पहिचान गर्ने काम भइसकेको छ,” उहाँले भन्नुभयो, “पर्यटकीय पूर्वाधार लगायतको के के निर्माण गर्न सकिन्छ । सोबाट कसरी धेरैभन्दा धेरै लाभ प्राप्त गर्न सकिन्छ भन्ने विषयमा विस्तृत समेट्एिर खाका तयार भएको हो ।”
प्रवक्ता आचार्यले अपि, सैपाल, बडीमालिका, रारालगायतका पर्यटकीय क्षेत्रमा कस्ता पर्यटकीय पूर्वाधार र गन्तव्य बनाउने विषयमा समेट्एिर आवश्यक खाका बनाउने काम सम्पन्न भइसकेको जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “अपी हिमाल जाने मार्गमा चाहिने अत्यावश्यक पर्यटकीय पूर्वाधार कस्ता बनाउने र के के आवश्यक पर्छन भन्नेलगायतका विषय समेट्एिर ल्याएका छौँ ।”
प्रवक्ता आचार्यले मन्त्रालयले बनाएको खाकामा सरकारको नीति तथा कार्यक्रम र बजेट समेत समेट्एिकाले पनि कार्यान्वयन गर्नका लागि धेरै हदसम्म सहज हुने दावी गर्नुभयो । सरकारले अघि सारको शासकीय सुधारमा भनिएको छ “नेपाललाई आरोग्य पर्यटनको हब बनाउने । त्यति मात्रै नभएर नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने । साथै, नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने । आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई ‘नेपाल वेलनेल इयर २०२७’ मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने योजना थियो ।”
मन्त्रालयका प्रवक्ता आचार्यले आरोग्य पर्यटन रणनीति मन्त्रिपरिषद्को बैठकबाट स्वीकृति भएर कार्यान्वयनमा गइसकेको बताउनुभयो । “आरोग्य पर्यटन रणनीति तयार पारेर मन्त्रिपरिषद्को बैठकबाट समेत स्वीकृत भइसकेको छ । आरोग्य पर्यटन रणनीति अहिले कार्यान्वयनमा आइसकेको छ,” उहाँले भन्नुभयो, “सरकारले सन् २०२७ लाई नेपाल वेलनेल इयर २०२७ को रुपमा मनाउने गरी आवश्यक तयारी थालिसकेको छ ।” आरोग्यमा विभिन्न विविधता झल्किने क्षेत्र पर्ने गर्छ जसमा योग, योगा, पदयात्रा र प्राचीन खालका खानपिन पर्छन् ।
प्रवक्ता आचार्यले आरोग्यताको कारणले पर्यटकको बसाइ पनि बढ्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय आकर्षणलाई बढाउनको लागि पनि आरोग्यतालाई विशेष प्रथामिकतामा राखेका हौं । यसले विश्वव्यापी रुपमा वेलनेल हुने अवस्थालाई मध्यनजर गर्दै यसको भरपुर उपयोग गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सकिनेछ ।”
उहाँले सरकार गठन भएसँगै एक सय दिनको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उल्लेखनीय सुधारका कामहरु हुँदै आइरहेको बताउनुभयो ।
“सरकार गठन भएपछि विमानस्थलबाट यात्रुहरूको आवागमनमा सहजताको लागि नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलमा विद्युतीय बसहरु सञ्चालनमा ल्याइएको छ,” उहाँले भन्नुभयो, “तीनवटै विमानस्थलमा सञ्चालनमा ल्याइएको सटलबसले यात्रुलाई धेरै सहज बनाएको छ ।” प्रवक्ता आचार्यले मन्त्रालयले पर्वतारोहण अनुमति सङ्ख्या, सङ्कलित सलामी रकमसमेतको विवरण मन्त्रालयको ‘सेन्ट्रल इन्फमेसन सिस्टम’बाट वास्तविक समय रियलटाइम डिस्प्ले हुने प्रबन्ध गर्न एपिआई इन्ट्रिग्रेसन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले पर्वतारोहण क्षेत्रको तथ्याव्यवस्थित गर्नका लागि धेरै मद्दत पु¥याउनेछ ।”
मन्त्रालयले एक सय दिनको अवधिमा सबै वायुसेवा कम्पनीको स्वीकृत उडान हुने दिनको सम्पूर्ण टिकट बिक्री नहुँदासम्म आन्तरिकतर्फको सम्पूर्ण वृत्त खण्डको एयरलाइन्स वेबसाइट सिस्टम, इसेवालगायतका ‘इपेमेन्ट पोर्टल’ बाट टिकट बिक्री हुने व्यवस्था मिलाएको छ ।
नेपाल वायुसेवा कम्पनीहरूको जहाजलाई युरोपियन देशहरूमा हवाई उडानमा लागेको प्रतिबन्ध हटाउन ‘करेक्टिभ एक्सन प्लान’ तयार गरी सम्बन्धित निकायमा पठाइएको छ । ‘युरोपियन युनियनको एयर सेफ्टी लिष्टमा रहेको कारण नेपाली वायु यानहरुलाई युरोपका गन्तव्यहरुमा उडान प्रतिबन्ध हटाउन ‘युरोपियन युनियन रिजनल सेफ्टी प्रोग्राम’हरु सञ्चालन भइरहेको छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय इयुको प्रतिबन्ध खुलाउनको लागि पनि पर्याप्त पहलकदमी हुँदै आइरहेको छ ।”
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडान हुँदै
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने कार्यतालिका तय भएको छ । पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबई कम्पनीले सन् २०२६ को सेप्टेम्बरदेखि नियमित अन्तरराष्ट्रिय उडान सुरु गर्ने गर्ने ‘समर सेड्युल’ र विन्टर सिजनको सेड्युल स्वीकृत भइसकेको छ ।
त्यसैगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललगायत अन्य अन्तरराष्ट्रिय र आन्तरिक विमानस्थलहरुको सरसफाइमा गुणात्मक सुधार भएको मन्त्रालयले जनाएको छ । त्यस्तैगरी विमानस्थलमा विमानस्थलमा स्तनपान कक्ष, वृद्ध तथा अशक्त यात्रुलाई सहायता सेवा र विरामी हेरचाह कक्षको व्यवस्था मिलाइएको छ । सरकारले त्रिुभवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि सरसफाइको कामलाई निरन्तरता दिँदै आइरहेको छ ।
राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिको बैठक दुई वर्षपछि बसी राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रम आठौँ संस्करण स्वीकृत भएको छ । त्यस्तैगरी विमानस्थलको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल प्रहरीअन्तर्गत छुट्टै ‘एभिएसन सेक्युरिटी विङ्’ बनाउन गृहमन्त्रालयलाई सिफारिस गरिएको छ ।
प्रवक्ता आचार्यले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामकीय र सेवा प्रदायक निकायमा विभाजन गर्ने कार्यको लागि कानुनी, नीतिगत र आर्थिक पक्षहरुको अध्ययन गरी सङ्क्रमणकाललाई सहज तुल्याउन सङ्क्रमण व्यवस्थापन निर्देशनालयको गठन गरी कार्य भइरहेको बताउनुभयो ।
मन्त्रालयका अनुसार भौतिक र अभौतिक सम्पदाहरुको संरक्षण र प्रवर्द्धन गर्ने काम हुँदै आइरहेको छ । अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण कार्यक्रमअन्तर्गत पाँच वटा सम्पदाहरुलाई सूचीकरण गर्ने काम भएको छ भने सङ्ग्रहालयसम्बन्धी राष्ट्रिय मापदण्ड, २०८३ स्वीकृत भएको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको समग्र सरसफाइलाई उच्च प्रथामितामा राखेर कार्यसम्पादन गर्दै आइरहेको छ ।
कोषमा कार्यरत कर्मचारीलाई दुई चरण तथा १२ रुटमा परिचालन गरेर दैनिक सरसफाइको काम हुँदै आइरहेको छ ।
पशुपति क्षेत्रअन्तर्गतका गौशाला बाटिका, भण्डारखाल बगैँचा, वनकाली उद्यान, निर्मल अखडालगायतका बगैँचाहरूको सौन्दर्यीकरण गरिएको कोषले जनाएको छ । कोषले पशुपति दर्शनार्थ आउने तीर्थयात्रीलाई सहज र सरल ढङ्गले दर्शन गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
भेटी व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन दैनिक भेटी सङ्कलनको विवरण कोषको वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरिएको र भेटी गणना डिस्प्ले बोर्डमार्फत समेत सार्वजनिक गर्ने प्रारम्भ गरिएको छ । पशुपति क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्थापनमा सुधार गर्दै निःशुल्क खानेपानीको पनि प्रबन्ध गरिएको छ ।
कोषले पशुपतिमा आउने पर्यटक तथा दर्शनार्थीहरुको लागि सहजताका लागि स्थापना गरिएको पर्यटक सहायता कक्षसमेत स्थापना गरिएको छ । त्यसको साथसाथै अन्य सांस्कृतिक महत्व बोकेका सम्पदा स्थलहरुको सरसफाइ तथा व्यवस्थापनमा पनि सुधार देखिएका छन् ।
रोयल्टीको राजस्व ३६ प्रतिशतले बढ्यो
मन्त्रालयका अनुसार होटल, क्यासिनो तथा पर्वतारोहणबापत नेपाल सरकारले विगत वर्षमा सङ्कलन गरेको राजस्व रकममा करिब ३६ प्रतिशतले वृद्धि भई हालसम्म करिब तीन अर्ब रकम बराबर राजस्व सङ्कलन भएको जनाएको छ । पर्यटन विभागबाट सम्पादन हुने कार्यमा करिव ८० प्रतिशतभन्दा बढी डिजिटल माध्यमबाट सम्पादन हुन गरेको छ ।
आगामी आर्थिक वर्षबाट पूर्णरुपमा डिजिटल माध्यमबाट सेवा प्रवाहको आधार तयार गरिएको छ ।
सरकारलाई तिर्नु बुझाउनुपर्ने राजस्व (रोयल्टी, शुल्क, दस्तुर, जरिवाना, बक्यौता)को सूचना सम्बन्धित पक्षलाई समयसीमाअगावै अग्रिम रुपमा एसएमएस तथा डिजिटल एप्समार्फत जानकारी गराउने थालनी गरिनेछ ।
त्यसैगरी सोही अवधिमा पशुपति क्षेत्रभित्र अतिक्रमणमा परेको १३ क्षेत्रबाट अतिक्रमण हटाई उक्त क्षेत्र पूर्ण रूपमा खाली गराइएको तथा संरक्षण, व्यवस्थापन र भावी उपयोगका लागि आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।