मान्म (कालीकोट), २२ असारः जिल्लामा उद्योग, व्यापार, सेवा र व्यावसायिक प्रतिष्ठान बढेको पाइएको छ । आर्थिक गणना २०८२ का प्राराम्भिक तथ्याङ्कअनुसार जिल्लामा उद्योग, व्यापार, सेवा र व्यावसायिक प्रतिष्ठान बढेका हुन् ।
जिल्लाको आर्थिक संरचना, रोजगारीको अवस्था र व्यावसायिक तथ्याङ्क सङ्कलन गर्न नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयले जिल्लामा गणक खटाएर आर्थिक आर्थिक गणना गरेको थियो ।
आर्थिक गणना २०७५ अनुसार जिल्लामा तीन हजार ५३५ वटा व्यावसायिक प्रतिष्ठान रहेकामा त्यो बढेर आर्थिक गणना २०८२ मा चार हजार ८९१ वटा उद्योग, व्यापार, सेवा र व्यावसायिक प्रतिष्ठान रहेको राष्ट्रिय तथ्याङ्क विभाग जिल्ला कार्यालयका प्रमुख वसन्त रजौरेले बताउनुभयो ।
गणना अवधिभर प्राप्त भएका प्रश्नावली तथा अनलाइन प्रणालीमा प्रविष्ट विवरणको नियमित अनुगमन, परीक्षण तथा प्रमाणीकरण गर्दै २०७५ को पहिलो गणनाभन्दा ३८ प्रतिशतले बढी आर्थिक प्रतिष्ठानको विवरण सङ्कलन गरिएको जानकारी दिइयो ।
उहाँले भन्नुभयो, “कागजी प्रश्नावलीमार्फत र २७ वटा इन्टरनेटको माध्यमबाट आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठान÷व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिएको थियो ।”
आर्थिक गणना २०८२ अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरी उद्योग, व्यापार, सेवा, होटल, वित्तीय संस्था, कृषि तथा अन्य आर्थिक प्रतिष्ठानहरूको विवरण प्रश्नावली प्रणालीमार्फत सङ्कलन गरिएको थियो । प्रमुख रजौरेले भन्नुभयो, “छुट भएका केही विवरणसमेत पुनः सम्पर्क गरी अद्यावधिक गरियो ।”
गणनाबाट सङ्कलित तथ्याङ्कले देशको आर्थिक अवस्था यथार्थ रुपमा प्रतिबिम्बित गर्दै आगामी नीति निर्माण, विकास योजना तर्जुमा तथा लगानीमैत्री वातावरण सिर्जना गर्न महत्वपूर्ण आधार प्रदान गर्ने कार्यालय प्रमुख रजौरेले बताउनुभयो ।
आर्थिक गणनाको मुख्य उद्देश्य जिल्ला रहेका उद्योग, व्यापार र सेवा क्षेत्रको वास्तविक अवस्था पत्ता लगाउनु रहेको थियो ।