विराटनगर, २२ असारः कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सरकारले सार्वजनिक गरेको बजेटप्रति आलोचना हुनु स्वाभाविक भएको उल्लेख गर्नुभयो । उहाँले बजेटमा देखिएका त्रुटि बजेट कार्यान्वयनअघि नै सच्याइने बताउनुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले स्रोत नबढाई विकासका योजना मात्र बढाउने प्रवृत्तिबाट समस्या आउने भन्दै भूगोल र जनसङ्ख्याका आधारमा सन्तुलित ढङ्गले मन्त्रालयले बजेट तयार गरेको दाबी गर्नुभयो । अहिले पनि मन्त्रालयमा रु २० अर्बभन्दा बढीको दायित्व रहेको जानकारी दिँदै उहाँले जनता आवास कार्यक्रममा रकम वृद्धि गरिएको बताउनुभयो ।
पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले बजेट निर्माण गर्दा असन्तुलन हुन नदिने विषयमा मन्त्रालय गम्भीर रहेको बताउँदै स्रोतको अभावका कारण मागअनुसार बजेट विनियोजन गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले हात्ती आतङ्कबाट बचाउन रु पाँच करोड विनियोजन गरिएको जानकारी दिँदै बाँदर र हात्तीको समस्या राष्ट्रिय समस्या भएको बताउनुभयो ।
खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले नीति र कार्यविधिले निर्देश गरेअनुसार स्रोतको सुनिश्चितता गरी बजेट निर्माण गरिएको दाबी गर्दै मन्त्रालयले विनाभेद समानुपातिक र समानताका आधारमा बजेट निर्माण गरेकोमा जोड दिनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विनियोजन विधेयकमाथि उठेका प्रश्नले सरकारलाई थप जवाफदेही बन्न बल पुगेको भन्दै मन्त्रालयले विधिभित्र रही संसदीय प्रणालीअनुसार नै बजेट निर्माण गरेको बताउनुभयो । उहाँले शान्ति सुरक्षा तथा जङ्गली हात्ती र बाँदरको समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभयो ।
उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राईल मन्सुरीले प्रदेशको समग्र कृषि तथा उद्योगको विकास र विस्तारका लागि बजेट विनियोजन गरिएको दाबी गर्नुभयो ।
स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले जनताले उठाएका विषयप्रति सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले धनकुटास्थित जिल्ला अस्पतालको स्तरोन्नतिका लागि रु २० करोड बजेट विनियोजन गरिएको जानकारी दिँदै सरकारको सामथ्र्यअनुसार अस्पतालमा जनशक्ति र उपकरण व्यवस्थापन गर्दै लगिने तथा यसबाट आम नागरिकको उपचारमा सहजता आउने दाबी गर्नुभयो ।
सामाजिक विकासमन्त्री रामप्रसाद महतोले मन्त्रालयले युवा, खेलकुद, भाषा, कला तथा महिला सशक्तीकरणका लागि बजेट व्यवस्था गरेको जनाउँदै भूगोल, वर्ग र क्षेत्रलाई समान ढङ्गले बजेट पु¥याउने व्यवस्था गरिएको बताउनुभयो ।
प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।