असार २५, २०८३ बिहिबार

सिद्धार्थनगर (भैरहवा), २५ असारः बुद्ध जन्मस्थल लुम्बिनी आसपासका व्यवसायी, अध्येता एवं स्थानीयवासीले लुम्बिनी घुम्न आउने पर्यटकलाई कम्तीमा एक दुई दिन यसै क्षेत्रमा अडिने वातावरण सृजना गर्न एकीकृत प्रयास हुनुपर्ने बताउनुभएको छ ।  
      
    सरोकारवाला पक्षले विश्वसम्पदा सूचीमा सूचीकृत पवित्रभूमि एवं धार्मिक तथा पर्यटकीयस्थल लुम्बिनी घुम्न आउनेहरू सोही दिन फर्कने गरेकाले पर्यटकको बसाइ लम्ब्याउन एकीकृत प्रयास हुन आवश्यक रहेको बताउनुभएको हो ।
 
    विशेषगरी स्थानीय होटल व्यवसायी, समाजसेवी, युवा तथा कृषकहरूले ‘ग्रेटर लुम्बिनी’ को अवधारणाअनुसार बुद्धसँग सम्बन्धित तिलौराकोट, देवदह र रामग्रामलगायतका क्षेत्रलाई समेटेर पर्यटकको बसाइ लम्ब्याउन पहल गर्नुपर्ने बताउनुभयो ।    
 
    उहाँहरूले सम्भाव्यताका आधारमा बाह्य देशहरूसँग सीधा हवाई सेवा सञ्चालन गरी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई चलायमान बनाउने, स्थानीय सांस्कृतिक गाउँ तथा ध्यान केन्द्रतर्फ पर्यटक आकर्षित गर्ने र ग्रामीण पर्यटनमा जोड दिने नीति अवलम्बन गरी लुम्बिनी क्षेत्रलाई लाभान्वित तुल्याउन सकिने सुझाव दिनुभयो ।   
 
    यसै सन्दर्भमा लुम्बिनी होटल सङ्घका अध्यक्ष लीलामणि शर्माले धार्मिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले नेपालको सबैभन्दा ठूलो पर्यटकीयस्थलका रुपमा रहेको लुम्बिनी ‘ब्राण्ड’ का रुपमा चिनिए पनि नीतिगत तथा व्यवस्थापनमा भएको कमजोरीका कारण अपेक्षित लाभ लिन नसकिएको बताउनुभयो ।
 
    लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसका प्रमुख प्रा दयानिधि शर्माले धार्मिक तीर्थस्थल मात्र नभई विश्व बौद्ध दर्शन, शान्ति, अहिंसा र मानव सभ्यताको अध्ययन–अनुसन्धान केन्द्रका रूपमा लुम्बिनीलाई स्थापित गर्नुपर्ने खाँचो औँल्याउँदै शिक्षा, अध्ययन–अनुसन्धान, ध्यान, संस्कृति र पर्यटनलाई एकसाथ जोडी पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।   
 
    सोही विश्वविद्यालयका पूर्वक्याम्पस प्रमुख प्रा फणिन्द्र न्यौपानेले विश्वमा हिंसा, द्वन्द्व र मानसिक तनाब बढिरहेका बेला बुद्धको ध्यान, करुणा र मध्यममार्गले मात्रै मानवतालाई सही दिशा दिन सक्ने उल्लेख गर्दै लुम्बिनीलाई केवल घुम्ने ठाउँ मात्र होइन, शान्ति विश्व विद्यालयका रूपमा विकास गरी शैक्षिक केन्द्रका रुपमा स्थापित गर्ने सोचसहित अघि बढ्नुपर्ने बताउनुभयो ।
 
    लुम्बिनी विकास कोषका सदस्य–सचिव ज्ञानीन राईले लुम्बिनीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र बाह्य साझेदार सङ्घ, संस्थाबीच समन्वयसहित सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिँदै पूर्वाधार विस्तारसँगै गुणस्तरीय पर्यटन सेवा र विश्वव्यापी प्रचारप्रसारका पक्षमा कोष रहेको स्पष्ट गर्नुभयो ।
 
    यसैगरी, लुम्बिनीलाई विश्वको आध्यात्मिक राजधानीका रूपमा विकास गर्ने लक्ष्यअनुसार विभिन्न कार्यक्रम अघि बढाइएको जानकारी दिँदै कोषका सूचना अधिकारी हरि राईले भन्नुभयो, “लुम्बिनी बुद्ध जन्मिएको स्थान मात्र होइन, विश्वशान्तिको सन्देश प्रवाह गर्ने भूमि हो, यहाँ आउने प्रत्येक व्यक्तिले केही समय ध्यान, साधना र आत्मचिन्तनमा बिताउन सक्ने वातावरण निर्माण गरी बसाइ लम्ब्याउन कोषका तर्फबाट सक्दो प्रयास हुने छ ।”
 
     धर्म, संस्कृति र सभ्यतासम्बद्ध अध्येताका अनुसार लुम्बिनी अब केवल बुद्ध जन्मिएको ऐतिहासिकस्थलमा सीमित नरही मानव सभ्यतालाई आन्तरिक शान्ति र सहअस्तित्वको बाटो देखाउने विश्वव्यापी आध्यात्मिक केन्द्रका रूपमा विकसित हुँदै गएकाले लुम्बिीनीको अझ प्रचारप्रसार गरी उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने अवस्था छ ।
 
    विशेषज्ञहरूका अनुसार विपश्यना, योग, बौद्धदर्शन अध्ययन, अन्तरराष्ट्रिय सम्मेलन तथा शान्ति संवादजस्ता गतिविधिलाई व्यवस्थित रूपमा विस्तार गर्न सकिए लुम्बिनी आउने पर्यटकको बसाइ लम्बिने मात्र होइन, यो विश्वकै प्रमुख आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने देखिन्छ ।
 
    यसैबीच धार्मिक पर्यटकीयस्थलको सम्भावनासहित पछिल्ला वर्षमा लुम्बिनी क्षेत्रमा ‘तारे’ होटल, ‘रिसोर्ट’ र गुणस्तरीय होटलहरू सञ्चालन भए पनि लुम्बिनी आउने पर्यटक दुई चार घण्टा घुमेर बाहिरिने क्रम बढेसँगै अपेक्षित लाभ लिन नसकेको सम्बद्ध व्यवसायी भनाइ छ ।   
 
    स्थानीय होटल व्यवसायीका अनुसार भारतका बनारस, बोधगया, दिल्ली र लखनऊका ‘ट्राभल एण्ड टुर अपरेटर’ सँग प्रत्यक्ष सहकार्य गरी लुम्बिनी–बनारस ‘बिटुबी ट्राभल मार्ट’ तथा ‘फ्याम ट्रिप’ मार्फत धार्मिक र सांस्कृतिक पर्यटनको साझा बजार विस्तार गर्ने अवधारणा कार्यान्वयनमा आएपछि बैंकबाट लिएको कर्जाको ब्याज तिर्न सकिएको छ ।
 
    विद्यमान अवस्थामा निजी क्षेत्रले ल्ुम्बिनीमा अब थप लगानी गर्न सोच्नुपर्ने अवस्था सृजना भएकाले लगानीमैत्री वातावरणका लागि सरकारका तर्फबाट आवश्यक पहल हुनुपर्ने माग गर्दै लुम्बिनी क्षेत्रका व्यवसायी तथा स्थानीयवासीले हरेक वर्ष लुम्बिनी घुम्न आउने १५ लाख पर्यटकको बसाइ लम्ब्याउन र थप पर्यटक भित्र्याउन सरोकारवाला पक्षबीच सहयोग र सहकार्यसहित एकीकृत हुनुपर्ने खाँचो औँल्याउनुभएको छ ।