कोलम्बो, २५ असार : श्रीलङ्काको इतिहासकै सबैभन्दा घातक मानिएको सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा सात वर्षपछि अनुसन्धानले नयाँ मोड लिएको छ । एक समय देशको राज्य गुप्तचर सेवाको नेतृत्व गरेका सेवानिवृत्त मेजर जनरल सुरेश सल्लेमाथि सरकारले आक्रमणको योजनाकार भएको आरोप लगाएपछि घटनाको आधिकारिक विवरणमाथि गम्भीर प्रश्न उठेको छ ।
सन् २०१९ अप्रिल २१ मा चर्च र पाँचतारे होटलहरूलाई लक्षित गरी भएका आत्मघाती विस्फोटमा २७९ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । मृतकमध्ये ४५ जना विदेशी नागरिक थिए । तिनीहरूमा अस्ट्रेलिया, बेलायत, चीन, डेनमार्क, नेदरल्यान्ड्स, जापान र अमेरिकाका नागरिक पनि थिए । त्यसबेला सात सुन्नी मुस्लिम आत्मघाती आक्रमणकारीले इस्लामिक स्टेट (आइएस) बाट प्रेरित भएर आक्रमण गरेको सरकारी निष्कर्ष सार्वजनिक गरिएको थियो ।
तर पछिल्लो अनुसन्धानले घटनालाई नयाँ दिशातर्फ मोडेको छ । सार्वजनिक सुरक्षा मन्त्री आनन्द विजेपालाले गत जुनमा संसद्मा सल्लेमाथि इस्लामिक अतिवादीहरूसँग मिलेर आक्रमणको रणनीतिक योजना बनाएको आरोप लगाउनुभएको थियो । उहाँका अनुसार आक्रमण हुनुभन्दा तीन साताअघि सल्लेले सम्भावित लक्ष्यबारे जानकारी सङ्कलन गर्न केही मुस्लिम व्यक्तिहरूसँग भेट गर्नुभएको थियो । सरकारी अनुसन्धानले बम आक्रमणकारी र कम्तीमा दुईवटा राज्य गुप्तचर निकायबीच सम्बन्ध रहेको सङ्केत गरेको पनि बताइएको छ ।
सल्लेलाई फेब्रुअरीमा आतङ्कवादविरोधी कानूनअन्तर्गत पक्राउ गरिएको भए पनि उहाँविरुद्ध औपचारिक अभियोग भने दर्ता गरिएको छैन । उहाँले आफूमाथिका सबै आरोप अस्वीकार गर्नुभएको छ । उहाँको अर्को अदालतमा सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।
घटनाबारेको पछिल्लो अनुसन्धानले यसलाई केवल गुप्तचर असफलता नभई योजनाबद्ध गुप्त अपरेसन भएको हुन सक्ने आशङ्का पनि अघि सारेको छ । अनुसन्धानकर्ताहरूका अनुसार आक्रमणपछि उत्पन्न हुने अस्थिर राजनीतिक अवस्थाबाट तत्कालीन राष्ट्रपति उम्मेदवार गोताबाया राजापाक्षलाई लाभ पुग्ने उद्देश्य रहेको हुन सक्ने सम्भावनासमेत अदालतमा प्रस्तुत गरिएको छ ।
बेलायती टेलिभिजन च्यानल–४ ले सन् २०२३ मा प्रसारण गरेको अनुसन्धानात्मक सामग्रीमा एक आन्तरिक सूचना सार्वजनिक गर्ने व्यक्तिको भनाइ उद्धृत गर्दै इस्लामवादी अतिवाद नियन्त्रण गर्ने प्रतिबद्धताका आधारमा गोताबाया राजापाक्षलाई राष्ट्रपतीय निर्वाचन जिताउन आक्रमण हुन दिइएको आरोप लगाइएको थियो । आलोचकहरूले तत्कालीन राजापाक्ष नेतृत्वले सुरक्षा राज्यको आवश्यकता पुष्टि गर्न अतिवादी सञ्जाललाई प्रयोग गरेको दाबी गर्दै आएका छन् । यद्यपि तत्कालीन प्रशासनले गृहयुद्धका क्रममा गुप्तचर प्रयोजनका लागि केही जिहादी समूहसँग सम्पर्क रहेको स्वीकार गरे पनि इस्टर बम विस्फोट उनीहरूले नियन्त्रणबाहिर गएर गरेको दाबी गर्दै आएको छ ।
श्रीलङ्कामा करिब ७० प्रतिशत बौद्ध, १२ प्रतिशत हिन्दू, १० प्रतिशत सुन्नी मुस्लिम र सात प्रतिशत इसाई समुदायको बसोबास छ । मुस्लिम समुदायका सदस्य रहेका सल्ले बौद्ध धर्मावलम्बीसँग विवाहित हुनुहुन्छ भने उहाँकी क्याथोलिक आमाले उहाँको रिहाइका लागि पोपसमक्ष अपिल गर्नुभएको छ ।
सल्लेले आफ्नो सेवाकालमा फ्रान्स र मलेसियास्थित श्रीलङ्काली नियोगमा काम गर्नुभएको थियो । उहाँले भारतको नेसनल डिफेन्स कलेज, मद्रास विश्वविद्यालय तथा बेलायतको ब्राडफोर्ड विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो । सन् २००३ मा आत्मघाती आतङ्कवादसम्बन्धी विषयमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा सम्बोधन गर्नुभएका उहाँले सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पनि सामाजिक सञ्जाल र डिजिटल माध्यमले कट्टरपन्थ र आतङ्कवाद फैलाउन खेलेको भूमिकाबारे धारणा राख्नुभएको थियो ।
गोताबाया राजापाक्ष राष्ट्रपति निर्वाचित भएपछि सल्ले राज्य गुप्तचर सेवाको प्रमुख नियुक्त हुनुभएको थियो । उहाँ त्यस पदमा पुग्ने पहिलो सैनिक अधिकारी हुनुहुन्थ्यो । सन् २०२० मा उहाँकै नेतृत्वमा मानवअधिकार कानून व्यवसायी हेजाज हिज्बुल्लाहलाई इस्टर बम विस्फोटको योजनाकार भएको आरोपमा पक्राउ गरिएको थियो । तर प्रमाण अभावमा २२ महिनापछि उहाँ रिहा हुनुभएको थियो ।
सल्लेले आफ्नो हिरासतलाई अमानवीय र अपमानजनक भएको दाबी गर्दै आउनुभएको छ । हिज्बुल्लाहले आफूले पनि कठिन हिरासत भोगेको स्मरण गराउँदै सल्लेले समेत निष्पक्ष व्यवहार, कानूनी परामर्श र पारिवारिक भेटघाटको अधिकार पाउनुपर्ने बताउनुभएको छ ।
सन् २०२४ मा राष्ट्रपति अनुरा कुमार दिसानायके सत्तामा आएपछि रोकिएका अनुसन्धान पुनः सुरु गरिएका थिए । त्यसयता सल्लेमाथिको अनुसन्धान तीव्र पारिएको छ र उहाँ हाल पनि हिरासतमा रहनुभएको छ ।