भेनेजुएला, २५ असार : विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार ८०० सय नाघेपछि संयुक्त राष्ट्रसङ्घले राहत तथा पुनःस्थापनाका लागि तत्काल ३० करोड अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । भूकम्पका कारण लाखौँ नागरिक प्रभावित भएका छन् भने हजारौँ अझै बेपत्ता र घरबारविहीन अवस्थामा रहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले दातृ निकायहरूलाई तत्काल सहयोगका लागि आह्वान गर्दै आगामी छ महिनाभित्र १३ लाख प्रभावित नागरिकलाई अत्यावश्यक सहायता उपलब्ध गराउने लक्ष्यसहित प्रारम्भिक चरणमा नौ करोड ६० लाख डलर आवश्यक रहेको बताउनुभयो । उहाँले विभिन्न दातृ राष्ट्रले सहयोग सुरु गरिसकेको उल्लेख गर्दै थप अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता औँल्याउनुभयो ।
भेनेजुएला सरकारले पनि पुनःनिर्माणका लागि विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । विदेशमन्त्री यभान गिलले संयुक्त राष्ट्रसङ्घको बैठकमा भेनेजुएलासँग सम्बन्धित विभिन्न मुलुकमा रोक्का गरिएका कोष पुनःनिर्माणमा प्रयोग गर्न उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँका अनुसार ती सम्पत्ति अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रोक्का भएका हुन् ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बेलायतको बैंक अफ इङ्गल्यान्डमा रहेको करिब ३० टन भेनेजुएली सुन फुकुवा गरिदिन बेलायती राजा चार्ल्स तृतीयलाई पत्र पठाउने निर्णय गर्नुभएको जानकारी दिनुभयो । उहाँले उक्त सुन भूकम्पपछिको पुनःस्थापनामा अत्यावश्यक रहेको बताउनुभयो ।
अमेरिकी सरकारले राहत कार्यलाई सहज बनाउन भेनेजुएलामाथिका केही आर्थिक प्रतिबन्ध चार महिनाका लागि अस्थायी रूपमा हटाएको छ । सन् २०१९ यता लागू गरिएका प्रतिबन्धहरू जनवरीमा राष्ट्रपति निकोलस मदुरो सत्ताच्युत भएपछि क्रमशः खुकुलो पारिँदै आएका छन् । ट्रम्प प्रशासनले अन्तरिम नेतृत्वलाई समर्थन गर्दै विशेषगरी ऊर्जा क्षेत्रको पुनरुत्थानलाई ध्यानमा राखेर प्रतिबन्धमा सहुलियत दिएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जुन २४ मा आएको शक्तिशाली भूकम्पबाट भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब छ प्रतिशत बराबर छ अर्ब ७० करोड अमेरिकी डलरको क्षति पुगेको छ । राजधानी काराकासको अन्तर्राष्ट्रिय विमानस्थलसमेत क्षतिग्रस्त भएकाले व्यावसायिक उडान अझै सञ्चालनमा आउन सकेको छैन ।
सात दशमलव २ र सात दशमलव ५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएको दुई सातापछि अधिकांश अन्तर्राष्ट्रिय उद्धार टोलीले जीवित व्यक्तिको खोजी अभियान समाप्त गरेका छन् । यद्यपि प्रभावित परिवारहरू अझै पनि भग्नावशेषमा आफन्तको शव खोजिरहेका छन् । सरकारी विवरणअनुसार हालसम्म तीन हजार आठ सय ११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब १७ हजार घाइते भएका छन् । ला गुइरा क्षेत्रमा मात्र करिब १८ हजार मानिस घरबारविहीन भएका छन् ।
सबैभन्दा बढी प्रभावित काराबालेडा क्षेत्रमा धेरै परिवार राहत सामग्रीको प्रतीक्षामा खुला स्थानमा बसिरहेका छन् । उनीहरूले सीमित मात्रामा खाद्यान्न, पानी, डायपर र अन्य अत्यावश्यक सामग्री प्राप्त गरेका छन् । समुद्र किनारमा नरिवलको मिठाई बेच्दै आएकी २६ वर्षीया स्टेफनी गारेटले राहतले केही राहत दिएको भए पनि यस्तो अवस्था कति समयसम्म रहने भन्ने अन्योल रहेको बताउनुभयो ।
त्यसैगरी, ३४ वर्षीया केशकत्र्री जेनेसिस रामिरेज आफ्ना भतिजीहरूको खोजीमा भग्नावशेषमा पुग्नुभएको छ । एउटै भवनबाट एक बालक जीवित उद्धार गरिएकाले अझै आशा नमरेको उहाँको भनाइ छ । उहाँले शव नभेटिएसम्म आफन्त जीवितै हुन सक्ने विश्वास कायम रहेको बताउनुभयो ।
ध्वस्त आवासीय भवनहरूमा अहिले उत्खनन टोलीहरूले भग्नावशेष हटाइरहेका छन् भने आफन्तहरू शव फेला पर्ने आशामा घटनास्थलमै पर्खिरहेका छन् । एक सैनिकका अनुसार उद्धारको सम्भावना सकिएको र अब मुख्य काम शवको खोजी तथा व्यवस्थापन मात्र बाँकी रहेको छ ।