रामल्लाह, २५ असार : प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बिहीबार एक आदेश जारी गर्दै प्यालेष्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा गर्ने घोषणा गर्नुभएको छ । यदि यो नर्वाचन भएमा प्यालेष्टिनीहरूले बीस वर्षपछि मताधिकार प्रयोग गरी आफ्नो विधायकलाई छान्नेछन् ।
प्यालेस्टिनी क्षेत्रमा विधायिकाको अन्तिम निर्वाचन सन् २००६ मा भएको थियो, जसमा हमासले जित हासिल गरेको थियो र अब्बासको फतह पार्टी पराजित भएको थियो । उक्त निर्बाचनबाट प्यालेष्टिनी सशस्त्र समूह हमासले प्यालेस्टिनी राजनीतिमा प्रभुत्व जमाएको थियो ।
त्यसपछि, अब्बासको प्यालेस्टिनी प्राधिकरणको संसद् (प्यालेस्टिनी विधायी परिषद्) सन् २००७ यता बैठक नै बस्न सकेको छैन।
“राष्ट्रपतीय आदेशले जेरूसेलम, वेस्ट बैङ्क र गाजा पट्टिमा रहेका प्यालेस्टिनी जनतालाई निर्दिष्ट मितिमा प्यालेस्टिनी विधायी परिषद्का सदस्यहरू निर्वाचित गर्न स्वतन्त्र र प्रत्यक्ष निर्वाचनमा भाग लिन आह्वान गरेको छ,” राष्ट्रपतीय आदेशलाई उद्धृत गर्दै प्यालेष्टिनी वाफा न्यूज एजेन्सीले समाचारमा जनाएको छ ।
निर्वाचन गर्नु प्यालेस्टिनी प्राधिकरणलाई आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायद्वारा माग गरिएका सुधारहरूको एक हिस्सा हो ।
९० वर्षीय अब्बासले अन्तिम प्यालेस्टिनी राष्ट्रपति निर्वाचन सन् २००५ मा जित्नुभएको थियो, जसको चार वर्षको कार्यकाल सन् २००९ मा समाप्त हुनुपर्ने थियो । देशमा निर्वाचनका लागि वातावरण नभएको बहानामा उहाँको कार्यकाल थप गरिएको थियो र त्यसपछि कुनै राष्ट्रपति निर्वाचन भएको छैन ।
अब्बासले राष्ट्रपतीय आदेशबाट शासन गर्दै आउनुभएको छ । यसले घरेलु तथा विदेशी समुदायबाट प्यालेष्टिनी नेतृत्वको आलोचना निम्त्याएको छ ।
सन् २०२१ मा अब्बासले विधायिका र राष्ट्रपति निर्वाचन क्रमशः मे र जुलाईमा गर्ने घोषणा गर्नुभएको थियो, तर पूर्वी जेरुसेलम (जसलाई इजरायलले सन् १९६७ देखि कब्जा गरेको छ) मा मतदान गर्ने वातावरणको सुनिश्चितता नभएको कारण देखाउँदै अनिश्चितकालका लागि स्थगित निर्वाचन स्थगित गरिएको थियो ।
अप्रिलमा, प्यालेस्टिनीहरूले इजरायली कब्जामा रहेको वेस्ट बैङ्कमा स्थानीय परिषद् प्रमुखहरूको निर्वाचनमा मतदान गरेका थिए, जुन सन् २०२३ अक्टोबरमा गाजा युद्ध सुरु भएपछिको पहिलो मतदान थियो ।
प्यालेस्टिनी प्राधिकरणले भ्रष्टाचार, गतिहिनता (आर्थिक तथा राजनीतिक अवरूद्धता) र घट्दो वैधताको व्यापक आलोचना सामना गरिरहेको छ ।
दाताहरूले आफ्नो आर्थिक तथा कूटनीतिक सहयोगलाई विशेष गरी स्थानीय शासन सुधारसँग जोड्दै लगेका छन् ।
प्यालेष्टिनी नेता अब्बासले जुन महिनामा राष्ट्रपति निर्वाचन सन् २०२७ को सुरुमा गर्ने घोषणा गर्नुभएको थियो, तर उहाँले आफू उम्मेदवार बन्ने वा नबन्नेबारे केही भन्नुभएको छैन ।