सिद्धार्थनगर (भैरहवा), २६ असारः नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित डण्डामा रहेको सशस्त्र प्रहरी बलअन्तर्गत सुरक्षा गुल्मले पछिल्लो दुई महिनामा रु एक करोड ७० लाख ६१ हजार १४६ मूल्यको सामान बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।
गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईले गत जेठ ८ गतेदेखि आजसम्म स्थानीय भन्सार छली गरी भारतबाट नेपाल ल्याउँदै गरेका लत्ताकपडा, हार्डवेयर तथा शृङ्गारका सामग्री, फलफूल, पेयपदार्थ, किराना तथा मेसिनरीलगायत सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा नियमित गस्ती, जाँचपड्ताल र सूचना सङ्कलनसहित अन्तरनिकायसँगको सहयोग, सहकार्य र समन्वयबाट उल्लेख्य परिणामका सामान जफत गर्न सम्भव भएको स्पष्ट गर्दै उहाँले पछिल्ला दिनमा लागुऔषध ओसारपसार, चोरी–तस्करी, राजस्व चुहावट एवं सीमा नाकामा हुने अवैध गतिविधि नियन्त्रणमा आएको दाबी गर्नुभयो ।
सो गुल्मको सक्रियतामा स्थानीय बासिन्दा, व्यवसायी, भन्सार एजेन्ट, यातायात व्यवसायी, सञ्चारकर्मी तथा अन्य सरोकारवालासँग नियमित अन्तरक्रिया र छलफल हुन थालेसँगै डण्डा क्षेत्रस्थित सीमा सुरक्षा व्यवस्था थप व्यवस्थित र प्रभावकारी भएको छ ।