दीपक श्रेष्ठ
गोरखा, २६ असारः एक समय हुलाक भन्नासाथ चिठीपत्र ओसारपसार गर्ने माध्यम भनेर बुझिन्थ्यो । तर, आजकाल ‘पार्सल सेवा’ रेडियो, अनलाइन नवीकरण सेवा र राहदानी घरघरमा पु¥याउनेलगायत अत्यावश्यक सेवा उपलब्ध गराउन थालेपछि एकाएक महत्त्व चुलिएको हो ।
फोन, इन्टरनेट र सामाजिक सञ्जालले लगभग हुलाकको महत्त्वलाई ओझेलमा पारेको थियो । हुलाकको कामलाई विविधीकरणमा रुपान्तरण गर्न थालेपछि हुलाक सेवाको महत्त्व बढेको छ । धेरैले ‘हुलाक कार्यालय अब त बन्द होला’ भन्ने धारणा राखेका थिए । पछिल्लो पटक सरकारले राहदानीलगायत अन्य महत्त्वपूर्ण कागजपत्र घरघरमा पु¥याउन थालपछि जनताको हुलाकप्रतिको धारणा बदलिएको छ ।
प्रविधिका कारण ओझेलमा परेका हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै हुलाक कार्यालय गोरखाले सेवाको प्रचारप्रसारका लागि समुदायस्तरमा सचेतना फैलाउन सुरु गरेको छ ।
कार्यालयले गाउँगाउँमा पुगेर विद्यालय तथा समुदायमा आधुनिक हुलाक सेवाबारे सचेतना फैलाउन सुरु गरेको हुलाक कार्यालय गोरखाका प्रमुख विनोदप्रसाद गैरेले बताउनुभयो ।
“हुलाकप्रतिको नागरिकको नकारात्मक धारणामा विस्तारै परिवर्तन हुन थालेको छ”, उहाँले भन्नुभयो, “धेरैलाई हुलाकको काम चिठीपत्र मात्र बोक्ने हो भन्ने थियो त्यसलाई सचेतना अभियानले सकारात्मक बनाउन थालेको छ ।”
प्रमुख गैरेले हुलाकले प्रदान गर्ने सेवाकाबारेमा नागरिकलाई जानकारी नहुँदा हुलाकको महत्त्व घट्दै गएको बताउनुभयो ।
हुलाक कार्यालयले नागरिकलाई आवश्यकपर्ने चिठीपत्रवाहेकआधुनिक हुलाक सेवा, उपयोगिता र महत्त्वबारे समुदायलाई प्रत्यक्ष जानकारी दिन कार्यालयले सचेतनामूलक अभियानको थालनी गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा गोरखा नगरपालिका–८ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, पालुङटार नगरपालिकास्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी, गोरखा नगरपालिका–७ का महिला समूह, टोलसुधार समितिलगायत प्रतिनिधिलाई हुलाकबाट अभिमुखीकरण प्रदान गरिएकोे उहाँको भनाइ छ ।
“हातहातमा मोबाइल आएपछि हुलाकको काम सकिएको होला भन्ने लागेको थियो”, गोरखा नगरपालिका–७ की सरिता विकले भन्नुभयो, “कार्यालयले समुदायमा आएर हुलाकको सेवाबारेमा अभिमुखीकरण प्रदान गरेपछि हुलाक महत्त्व घट्दो होइन बढ्दो रहेछ भन्ने थाहा पाए ।”आफू जस्तै धेरै युवापुस्तामा हुलाकको काम चिठीपत्र पठाउनेमा मात्र समिति रहेको भन्ने बुझाइलाई समुदायस्तरको अभिमुखीकरण कार्यक्रमले बदली दिएको उहाँले बताउनुभयो ।
हुलाक सेवाले बद्लिँदो समयसँगै आफूलाई रुपान्तरण गर्दै नागरिकमैत्री सेवा प्रदान गर्ने सार्वजनिक संस्था भएकाले यसलाई समुदायस्तरमा थप सचेतना फैलाउन आवश्यक रहेको कार्यालय प्रमुख गैरेको भनाइ छ ।