असार २९, २०८३ सोमबार

काठमाडौँ, २९ असारः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा  हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित सवारीसाधनधनीलाई हस्तान्तरण गरेको छ ।

    कार्यालयले एक महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानबाट फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर आज आयोजित कार्यक्रममा सम्बन्धित सवारीसाधनधनीलाई बुझाएको हो ।

    प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले हराएका तथा चोरी भएका सवारीसाधन खोजीलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले सवारीधनीलाई आफ्ना सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गर्नुभयो ।

    कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारीसाधनको सुरक्षामा सवारीधनीकै भूमिका महत्वपूर्ण हुने भएकाले जीपीएस प्रणाली जडान, सुरक्षित पार्किङस्थल प्रयोग र आवश्यक सावधानी अपनाउने चोरी तथा हराउने घटना कम गर्न सकिने बताउनुभयो ।

    ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका सवारीसाधनको खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।