असार २९, २०८३ सोमबार

विराटनगर, २९ असारः कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यसमेत नियुक्त गरिएको हो ।

    नवगठित प्रतिष्ठानका अध्यक्षमा मोरङका पत्रकार दीपक दाहाल, रजिष्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराई, सदस्यहरूमा पत्रकार शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल(झापा), अर्जुन राजवंशी (झापा) र ध्रुव ढकाल (सुनसरी) रहेका सरकारका प्रवक्ता पराजुलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२’ अनुसार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ । राजपत्रमा उल्लेखित प्रस्तावनाअनुसार प्रदेशभित्र स्थापना हुने वा स्थापना भई सञ्चालनमा रहेका आमसञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको व्यवस्था गर्न यो ऐन ल्याइएको उहाँले जानकारी दिनुभयो ।