असार २९, २०८३ सोमबार

बागमती, २९ असारः लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट सञ्चालन हुने दुई सडकमा मङ्गलबार बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । 

    सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार आज साँझ ५ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक र हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकमा यातायात बन्द रहनेछ ।

    प्रशासनले हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकतर्फ जाने सवारीलाई चौघडामा र हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकतर्फ जाने सवारीलाई चौकीटोलमा रोक्न अनुरोध गरेको छ । प्रशासनका अनुसार २८ असारदेखि परेको लगातार वर्षाले जिल्लाका विभिन्न सडकमा जोखिम बढेकाले यात्रुको सुरक्षाका लागि  निर्णय गरिएको हो । 
---