असार २९, २०८३ सोमबार

काठमाडौँ, २९ असारः जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द गरेको छ । 

    वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिनुभयो । 

    सो सडक खण्डमा मकवानपुर जिल्लासँगको समन्वयमा मङ्गलबार बिहान ५ः०० बजेदेखि असार ३१ गते बिहान ६ः०० बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

    विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारण तथा यातायात व्यवसायीलाई अनुरोध गरेको छ । 

    प्रशासनले सर्वसाधारणलाई मौसम तथा सडकको अवस्थाबारे आधिकारिक सूचनाको पालना गर्न, सुरक्षित भएर रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरेको छ । 
---