साउन २, २०८३ शनिबार

काठमाडौं, २ साउनः सुदूरपश्चिममा रहेर गजल साधनामा सक्रिय गजलकार तारा पल्लवीको पहिलो गजल सङ्ग्रह ‘सिरानी’ सार्वजनिक भएको छ ।

    आवरण प्रकाशनद्वारा प्रकाशित सिरानीको आज यहाँ आयोजित कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल र ललिजन रावलले संयुक्त रूपमा लोकार्पण गर्नुभयो । 

    म फलाम जस्तो, यो दुनियाँ खिया जस्तो
    म खोजी रहेँ न्यानो, आमाको फरिया जस्तो ।
    
    नारी मनका पीडा, संवेदना र विद्रोही चेतनालाई गजलमार्फत अभिव्यक्त गर्ने पल्लवीको सिरानीमा आठ दर्जनभन्दा बढी गजल समावेश छन् । 

    सिरानीको समीक्षा गर्दै रमेश शुभेच्छुले सूक्ष्म विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु पल्लवीको विशेषता भएको बताउनुभयो । अर्का समीक्षक  नारायण गैरेले उहाँका गजलमा नारी चेतना, प्रतिरोध र सामाजिक यथार्थको प्रभावकारी समन्वय रहेको बताउनुभयो।

    आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले सुदूरपश्चिम  गजलको उर्वरभूमिका रूपमा उदाएको चर्चा गर्दै तारा पल्लवीजस्ता स्रष्टाले गजल साहित्यको भविष्य उज्ज्वल बनाएको बताउनुभयो ।