साउन ६, २०८३ बुधबार

काठमाडौं, ६ साउनः बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ नगरपालिका–६ आमडालीका ५५ वर्षीय विनोद अर्यालको मृत्यु भएको हो । 

सप्तरीको शम्भुनाथ नगरपालिका–८ बेरियाइमा ट्रकमा  मोटरसाइकल ठोक्किँदा  मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–१ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको मृत्यु भएको छ । 
यसैगरी,  हेटौँडा उपमहानगरपालिका–११ झमसिङटारमा ट्याक्टर दुर्घटना हुँदा त्यसका चालक सल्ल्यानको कपुरकोट गाउँपालिका–३ का २२ वर्षीय विक्रम खड्काको मृत्यु भएको छ । 

रौतहटको गुजरा नगरपालिका–९ सिमराभनानिपुर चोकमो अटो र भारतमा दर्ता भएको मोटरसाइकल एकापसमा ठोक्किँदा २२ वर्षीय मोटरसाइकल चालक आमोद ठाकुरको मृत्यु भएको समाचारकक्षले जनाएको छ । 

त्यसैगरी, बाँकेको बैजनाथ गाउँपालिका–५ बाँसगढीबाट कोहलपुरतर्फ गइरहेकोे मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६९ वर्षीया रूपावती सुनारको मृत्यु भएको छ ।