काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई परिवारका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख गरिएको छ।
रास्वपाले तयार पारेको स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्डअनुसार पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाइने छैन।
निर्देशनमा स्वकीय सचिवको नियुक्ति पारिवारिक तथा नातागोताको घेराभन्दा बाहिरबाट मात्रै गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ।
रास्वपाले सुशासन, पारदर्शिता र योग्यता आधारित नियुक्तिलाई संस्थागत गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।