साउन ८, २०८३ शुक्रबार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्यात प्रवर्द्धन, नीतिगत सुधार र उद्योग व्यवसायका समस्या तथा समाधानका विषयमा आज प्रमुख निर्यातमुखी उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुने कार्यक्रम छ।

छलफलमा निर्यात क्षेत्रका विद्यमान चुनौती, नीतिगत सुधारका आवश्यकता तथा निर्यात विस्तारका सम्भावित उपायबारे विचार–विमर्श हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रका समस्या बुझ्न उद्योगी–व्यवसायी र विभिन्न सरोकारवाला निकायसँग निरन्तर संवादलाई प्राथमिकता दिँदै आएका छन्।