काठमाडौं । लगातारको वर्षाले देशभरका सडक पूर्वाधारमा असर पुर्याउन थालेको छ। पहिरो खस्ने, सडक भासिने र नदी कटान हुने क्रम बढेपछि विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्म संकलन गरेको विवरणअनुसार देशका विभिन्न स्थानमा रहेका नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। वर्षाका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
वर्षाजन्य जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने उक्त सडकखण्डमा सम्भावित बाढीको जोखिम देखिएपछि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, कान्ति लोकपथमा पनि वर्षायामभर रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधन चलाउन नदिने व्यवस्था गरिएको छ।
वर्षाका कारण इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा रोकिएको छ। त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पहिरोका कारण अन्य महत्वपूर्ण सडकखण्डसमेत प्रभावित भएका छन्। बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग र लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरस्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि अवरुद्ध छन्।
यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटार क्षेत्रमा तामाकोशी नदीको कटानका कारण लामासाँघु–रामेछाप सडकखण्ड प्रभावित भएको छ। यद्यपि, स्थानीय तह र सम्बन्धित निकायको पहलमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम बढ्ने भएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। विशेषगरी पहाडी तथा नदी किनारका सडकमा थप जोखिम हुन सक्ने