काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार पाँचौं हार बेहोरेको छ। पाकिस्तानको इस्लामावादमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएको हो।
उज्वेकिस्तानले नेपाललाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा आफ्नो जित दर्ता गर्यो। पहिलो सेटमा नेपालले कडा प्रतिस्पर्धा गरे पनि २६–२४ ले गुमायो। त्यसपछि दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले गुमाउँदै नेपाल हार स्वीकार्न बाध्य भयो।
यस हारसँगै नेपालले लिग चरणका सबै पाँच खेल गुमाएको छ। यसअघि नेपाल पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र कजाकिस्तानसँग पनि पराजित भएको थियो।
प्रतियोगितामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाल जितविहीन रहँदै लिग चरणको यात्रा टुंग्याएको छ।