साउन १९, २०८३ मंगलबार

काठमाडौँ । नेपाली फिल्म ‘हिमालयन गोल्ड’ को पहिलो झलक अहिले देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका हलहरूमा प्रदर्शन हुन थालेको छ। फिल्म सुरु हुनुअघि देखाइने टिजरमार्फत निर्माण टिमले हिमाली परिवेशमा आधारित रहस्य, अपराध र थ्रिल मिश्रित कथाको संकेत दिएको हो। यद्यपि, फिल्मको प्रदर्शन मिति भने अझै सार्वजनिक गरिएको छैन। टिजर पनि हालसम्म डिजिटल प्लेटफर्म वा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छैन।

टिजरमा स्वर्गीय अभिनेता सुनील थापा, अभिनेता कर्मा शाक्य र अभिनेत्री परीक्षा लिम्बूलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। सुनील थापाको गहिरो आवाजमा रहेको संवादले कथाको रहस्य झल्काउँछ भने हिमालका मनोरम दृश्य, रहस्यमयी पात्रहरूको उपस्थिति र तनावपूर्ण वातावरणले दर्शकमा जिज्ञासा पैदा गर्ने प्रयास गरेको छ। कर्मा शाक्यको गम्भीर र आक्रामक शैलीको प्रस्तुति पनि टिजरको मुख्य आकर्षणमध्ये एक बनेको छ।

फिल्मको कथा हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा वरिपरि केन्द्रित रहेको टिजरले संकेत गरेको छ। अन्तर्राष्ट्रिय बजारमा ‘हिमालयन गोल्ड’का रूपमा चिनिने यार्चागुम्बालाई लिएर हुने अवैध कारोबार, लोभ र त्यसबाट सिर्जना हुने अपराधलाई फिल्मले मुख्य कथावस्तु बनाएको अनुमान गर्न सकिन्छ।

नेपाली चलचित्रमा हिमाली भेगको जीवन, त्यहाँको संघर्ष र अपराधको कथा कमै प्रस्तुत हुने गरेका बेला ‘हिमालयन गोल्ड’ले फरक विषयवस्तु उठाएको देखिन्छ। टिजरको दृश्य संयोजन, छायांकन र पृष्ठभूमि संगीतले पनि फिल्मप्रति उत्सुकता बढाउने प्रयास गरेको छ।

गत वर्ष छायांकन सम्पन्न भएको फिल्मको लेखन तथा निर्देशन धिराज राजवंशीले गरेका हुन्। ह्वाइट एलिफन्ट मोसन पिक्चरको निर्माण सहकार्य रहेको फिल्ममा मेनुका प्रधान पनि प्रमुख भूमिकामा छिन्। निर्माण पक्षले टिजर केही सातापछि युट्युबमार्फत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।