काठमाडौँ । प्रदर्शनमा आएको छोटो समयमै नेपाली फिल्म ‘गौँथली’ ले घरेलु बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ। डा. कपिल रिजालको निर्देशनमा बनेको यो फिल्म यस वर्ष प्रदर्शन भएका नेपाली चलचित्रमध्ये सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार साउन १ गतेदेखि प्रदर्शनमा रहेको ‘गौँथली’ले साउन १७ गतेसम्म १३ करोड ६४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। सो अवधिमा फिल्म हेर्न करिब पाँच लाख दर्शक हल पुगेका छन्।
यो कमाइसँगै ‘गौँथली’ नेपाली चलचित्र इतिहासका सर्वाधिक कमाउने फिल्महरूको सूचीमा १२औँ स्थानमा उक्लिएको छ। यसअघि उक्त स्थानमा अभिनेता पल शाह अभिनीत ‘आबाट आमा’ रहेको थियो, जसले १३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। ‘गौँथली’ले त्यसको कमाइलाई उछिन्दै नयाँ कीर्तिमान बनाएको हो।
डा. भोला रिजालको साहित्यिक कृतिमा आधारित यस फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। निर्देशक कपिल रिजाल, डा. भोला रिजालका छोरा हुन्। पारिवारिक कथा, सामाजिक संवेदना र भावनात्मक प्रस्तुतिका कारण ‘गौँथली’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै बक्स अफिसमा लगातार मजबुत प्रदर्शन गरिरहेको छ।