भदौ ४, २०८३ बिहिबार

काठमाडौं — नेपाली राजनीतिका अद्भूत प्रतिभा, निडर विचारक एवं नेपाली काङ्ग्रेसका आदरणीय नेता स्वर्गीय प्रदीप गिरिज्यूको चौथो स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक स्मरण गरिएको छ।

यस स्मरणीय अवसरमा नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले एक श्रद्धा सन्देश जारी गर्दै स्व. गिरिज्यूको क्रान्तिकारी, वैचारिक र निष्ठावान् व्यक्तित्वप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ।

महासमिति सदस्य गुरुङले आदरणीय प्रदीप दाइ केवल एक राजनीतिज्ञ मात्र नभई नेपालको प्रजातान्त्रिक आन्दोलनका वैचारिक स्तम्भ, दर्शनशास्त्रका गम्भीर अध्येता र 'सादा जीवन, उच्च विचार' का प्रतिमूर्ति हुनुहुन्थ्यो भन्दै स्मरण गर्नुभएको छ। उहाँले जननायक बी.पी. कोइरालाको प्रजातान्त्रिक समाजवादलाई सरल, व्यावहारिक र समयानुकूल व्याख्या गर्दै राजनीतिमा अध्ययन, निष्ठा र नैतिकताको जग बसाल्न गिरिज्यूले खेल्नुभएको भूमिका इतिहासमा सधैँ स्वर्ण अक्षरले लेखिने बताएका छन्।

सत्ता र पदको प्रलोभनभन्दा माथि उठेर सधैँ उत्पीडित वर्ग, सीमान्तकृत समुदाय, वैचारिक निष्ठा र लोकतन्त्रको पक्षमा निर्भीक भई आवाज उठाउने उहाँको दर्शन आजको नेपाली राजनीतिमा झनै बढी प्रासंगिक बनेको गुरुङको ठहर छ।

खासगरी युवा पुस्ता र नेपाल तरुण दलका लागि स्व. गिरिज्यूका विचार र जीवनशैली सधैँ प्रेरणाका स्रोत रहेको उल्लेख गर्दै नेता गुरुङले भन्नुभयो, "राजनीतिलाई सत्ता प्राप्तिको साधन मात्र नबनाई समाज रूपान्तरण, वैचारिक बहस र जनसेवाको माध्यम बनाउनुपर्छ भन्ने उहाँको मूल मन्त्रलाई व्यावहारिक जीवनमा आत्मसात् गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ।"

स्मृति दिवसको यसै सन्दर्भमा, स्व. प्रदीप गिरिज्यूले देखाउनुभएको वैचारिक मार्ग, लोकतान्त्रिक मूल्य-मान्यता र सिद्धान्तको राजनीतिमा आफू सधैँ निरन्तर र अविचलित भई लागिरहने दृढ प्रतिबद्धता नेता विद्वान गुरुङले व्यक्त गर्नुभएको छ।

स्व. प्रदीप गिरिज्यूको विचार, दर्शन र आदर्श नेपाली राजनीतिक वृत्तमा सदैव अमर रहोस् भन्ने कामनासहित चौथो स्मृति दिवसमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।