काठमाडौं । नेपाली कांग्रेसले युवाको क्षमता पहिचान गरी उनीहरूलाई सीप, अवसर र उद्यमसँग जोड्ने उद्देश्यले ‘बीउ’ अभियान अघि बढाएको छ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कांग्रेस सभापति गगन थापाले केन्द्रीय समिति बैठकमार्फत अभियानको घोषणा गरेका हुन्। Build, Incubate and Uplift शब्दबाट ‘BIU’ अर्थात् ‘बीउ’ नामकरण गरिएको कांग्रेसले जनाएको छ।
अभियानअन्तर्गत युवाको सीपलाई अवसरसँग, अवसरलाई उद्यमसँग र उद्यमलाई आत्मनिर्भरतासँग जोड्ने योजना कांग्रेसको छ। युवाभित्र रहेको उद्यमशीलता, प्रविधि, सिर्जनशीलता तथा नेतृत्व क्षमतालाई पहिचान गर्दै त्यसलाई व्यावहारिक अवसरमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।
कांग्रेसले अभियानको सुरुवात ललितपुरबाट गर्ने जनाएको छ। त्यसपछि हिमाल, पहाड र तराई–मधेसका एक–एक जिल्लामा विस्तार गरी क्रमशः देशभर पुर्याउने योजना अघि सारिएको छ।
युवाले आफ्नो सपना पूरा गर्न अवसरको अभाव महसुस गर्न नपरोस् भन्ने उद्देश्य अभियानको रहेको कांग्रेसको भनाइ छ। अभियानमार्फत युवाका आवश्यकता र सम्भावना पहिचान गरी उनीहरूलाई आवश्यक अवसर तथा सहयोगसँग जोडिने बताइएको छ।
कांग्रेसले युवाको सम्भावनालाई ‘बीउ’का रूपमा विकास गर्दै त्यसलाई क्रमशः ‘विरुवा’ हुँदै दिगो ‘रूख’का रूपमा स्थापित गर्ने अवधारणासहित अभियान अघि बढाएको हो।