भदौ १२, २०८३ शुक्रबार

पोखरा, १२ भदौः आधुनिकताका नाममा हाम्रा विभिन्न संस्कार र संस्कृति हराउँदै गएका अवस्थामा पोखरा महानगरपालिका–३२ का ज्येष्ठ नागरिक भने वैदिक संस्कार र संस्कृतिलाई पुस्तान्तरणसँगै त्यसको मौलिकता जोगाउने अभियानमा क्रियाशील बनेका छन् ।
    
    विगत दुई महिनायता पृथ्वीराजमार्गअन्तर्गत पोखरा–३२ तल्लो गगनगौँडाको गोगन मावि नजिकै रहेको पुरानो गाउँको चौतारामा जनै बनाउन सिक्ने र सिकाउने अभियान सञ्चालन गरिहेका यहाँका ज्येष्ठ नागरिकले आज वैदिक महत्वको श्रावणी स्नान संयुक्त रुपमा गरेका छन् । श्रावणी स्नानमा ज्येष्ठ नागरिकसँगै युवाको पनि सहभागिता रहेको ८१ वर्षीय कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
    
    हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन गरिने श्रावणी स्नान पछिल्ला पुुस्ताका लागि एकादेशको कथा जस्तै बन्ने अवस्थामा पुुगेको बताउँदै उहाँले यसको मौलिकता जोगाउनका लागि आफूूहरूले तल्लो गगनगौैँडाबाट प्रयास थालेको बताउनुभयो । शास्त्रीय विधानमा श्रावण शुुक्ल पूर्णिमाका दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले जनै फेर्नुपर्ने उल्लेखसँगै यो संस्कार प्राचीनकालदेखि प्रचलनमा आएको छ ।

    तागाधारीहरूले जनैपूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नानका रुपमा लिइने अधिकारीले जानकारी दिनुभयो । श्रावणी स्नानको महत्वसँगै यसको प्रचलनलाई युवा पुुुस्तामा पनि पुगोस् भन्ने हेतुले तल्लो गगनगौँडामा आफूहरूले श्रावणी स्नान सुुरु गरेको उहाँले जानकारी दिनुुभयो ।
    
    अर्का स्थानीयवासी घनश्याम खनालले आफूले आठ वर्ष अघि गैँडाकोटमा श्रावणी स्नान गरेको अनुुभव बताउँदै मौलिक परम्परालाई स्थानीय रुपमा पनि सञ्चालन गर्ने उद्देश्यका साथ तल्लो गगनगौँडामा यो जमर्को गरिएको बताउनुभयो । वैदिक विधिअनुसार जनैपूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षाबन्धन बाँध्ने गर्दछन् ।
    
    गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको रक्षाबन्धन धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वासले पनि यसको विशिष्ट महत्व रहिआएको उहाँले जानकारी दिनुभयो । विधिपूूर्वक गरिने यो स्नानको आफ्नै विशिष्ट मौलिकता रहेको बताउनुहुने गोविन्द कोइराला हाम्रा संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्नु अपरिहार्य भएको धारणा राख्नुुभयो । 

    “पुुस्तान्तरण नहुुने हो भने हाम्रा संस्कार संस्कृति पनि क्रमशः लोप हुुँदै जान्छन्”, खनालले भन्नुभयो, “हाम्रा संस्कृतिसँग युवापुुस्तालाई पनि सँगसँगै जोडेर लैजानुुपर्ने आवश्यकता रहिआएको छ ।”
    
    श्रावणी स्नान गरेपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्दतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) लगाउने गरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले जनैपूर्णिमाको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको गुरुप्रसाद पौडेलले बताउनुभयो ।
    
    श्रावणी स्नानसँगै आफूहरू विगतका वर्षदेखि नै वैदिक जनै बनाउने अभियानलाई पनि निरन्तरता दिएको ८१ वर्षीय अधिकारीले जानकारी दिनुुभयो । आफूहरूले विगत दुुई महिनायता पुुरानो गाउँको चौतारामा जम्मा भएर जनै बनाउने गरेको अनुुभव बताउँदै उहाँले यस अवधिमा जनै बनाउन इच्छा गर्नेलाई सीप पनि सिकाएको बताउनुुभयो ।
    
    नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाइने बताउँदै अधिकारीले जनै बनाउने सीप राम्रोसँग बुझ्न र सिक्न भने समय लाग्ने बताउनुुभयो । आफूहरूले जनै बनाएर बेच्नेभन्दा पनि यसबारे ज्ञानसीप नयाँ पुस्तामा पुगोस् भन्ने नै रहेको उहाँको भनाइ छ । अधिकारीका अनुसार नियमपूर्वक जनै बनाउन त्यति सजिलो छैन । जनै बनाउन सुरुमा काँचो धागोलाई सानो चर्खाको सहायताले सँगालिन्छ ।    सँगाल्नका लागि कतुवाको प्रयोग हुने बताउँदै उनले काँचो धागो बाटेपछि जनैको डोरा तयार गरिने बताउनुुभयो । यसरी बनेका डोरालाई तीनपटकसम्म पट्याएपछि त्यसमा शिखा पारिने र जसलाई ‘ब्रह्म ग्रन्थी’ भनिने उहाँले जानकारी दिनुुभयो । 

    अर्का ज्येष्ठ नागरिक कोइरालाका अनुुसार नियमपूर्वक बनाएर संस्कार गरिएका जनै मात्रै लगाउनुपर्ने र त्यसको आफैँमा विशिष्ट सांस्कृतिक महत्व रहेको छ । जनै बनाउने सीपसँगै यससँग जोडिएको श्रावणी स्नानको मौलिकतालाई जोगाउँदै यसको पुस्तान्तरण गर्ने अभियानमा आफूहरू लागेको उहाँको भनाइ छ ।