घोराही (दाङ), १२ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक भएको बताउनुभएको छ ।
जनै पूर्णिमा (रक्षाबन्धन) का अवसरमा घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित सिद्धरत्ननाथ मठमा आयोजित महाभण्डारा तथा प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री आचार्यले संरक्षण र विकासमा प्रदेश सरकारको निरन्तर योगदान रहने बताउनुभयो । सो अवसरमा उहाँले मठको अवलोकन गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेका यस्ता सम्पदाले दाङसहित लुम्बिनी प्रदेशको पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री आचार्यले सम्पदाको संरक्षणसँगै यसको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मठ परिसरमा रहेको ऐतिहासिक पुस्तकालयको समेत अवलोकन गर्नुभयो ।
पुस्तकालयमा रहेका ऐतिहासिक तथा धार्मिक सामग्री र दस्तावेजको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले भावी पुस्ताले समेत अध्ययन तथा अवलोकन गर्न सक्ने गरी यस्ता सम्पदाको संरक्षण गर्न प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मठ परिसरमा रहेको ऐतिहासिक संरचनाको अवलोकन गर्नुका साथै प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको धर्मशालाको समेत अनुगमन गर्नुभयो ।
धर्मशाला निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले निर्धारित लक्ष्य र उद्देश्यअनुसार निर्माणको काम अघि बढाएर पूर्णता दिइने बताउनुभयो । कार्यक्रममा मठका महन्त योगी सुरतनाथ, मठाध्यक्ष पीर योगी ज्ञाननाथलगायतको सहभागिता रहेको थियो ।
–––