भदौ १२, २०८३ शुक्रबार

काठमाडौँ, १२ भदौः पशुपतिनाथसहित देशभरका मुख्य, मुख्य शिवालयमा आज बिहानैदेखि नव यज्ञोपवीवत धारण गरी रक्षाबन्धन गर्ने भक्तजनको घुइँचो लागेको छ । 

    वैदिक सनातन धर्मावलम्बीले आजका दिनमा नदी, ताल, तलाउ, पोखरीलगायत स्थानमा विधिपूर्वक दत्तिवन, गोबर र भष्मले स्नान गरी घर वा शिवालयमा रुद्राभिषेक गरी मन्त्रिएको नव यज्ञोपवीत र रक्षाबन्धन धारण गर्ने परम्परा रहिआएको छ । घरमा रुद्राभिषेक नगर्ने भक्तजन शिवालयमा गएर नयाँ जनै र डोरो लगाउने भएकाले पशुपतिनाथलगायत शिवालयमा भक्तजनको घुइँचो लागेको हो । 

    पशुपति क्षेत्रमा आज बिहानै ३ः०० बजेदेखि नयाँ जनै र डोरो लगाउने भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोष सञ्चाक परिषद् सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो । जनै फेर्ने र डोरो लगाउन भक्तजनलाई गर्भगृह रहेको मूल मन्दिर क्षेत्रभन्दा बाहिरको स्थान उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

    आजै स्नान गरी विधिपूर्वक ऋषिहरूलाई उहाँहरूले दिनुभएको वैदिक ज्ञानका लागि धन्यवाद दिन तर्पण गर्ने गरिन्छ । जसलाई ऋषितर्पणी पनि भनिन्छ । यस अवसरमा आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेवलगायत राजधानीका साना, ठूला शिवालयमा पनि नयाँ जनै फेरेर डोरो बाँध्न भक्तजनको घुइँचो लागेको छ । यसैगरी राजधानी बाहिरका ठूला, साना शिवालयमा पनि भक्तजन नयाँ जनै लगाएर डोरो बाँध्न लाममा बसेका छन् ।