कात्तिक २८, २०७८ आइतबार

धनगढी, कात्तिक २८ गते । बाढी प्रभावित कैलालीका किसानले हिउँदे बालीको खेतीका लागि कृषि सामग्रीको जोहो गर्न समस्या भएको भन्दै सहयोग मागेका छन् । गहुँको बीउ मात्रै सहयोग भए पनि ठूलो राहत हुने किसानको भनाइ छ ।

“हामीलाई तत्काल गहुँको बीउ र मलखादको खाँचो हो,” कैलारी गाउँपालिका–७ का कृषक रामदिन महतोले भने, “राहतको नाममा चिउरा, चामल चाहिँदैन । त्यसको सट्टा गहुँको बीउमात्रै सहयोग गरिदिए हुन्छ । ”

महतोले तीन बिघा जमिनमा लगाएको धानबालीलाई कात्तिक पहिलो साताको बाढीले बगाएर लगेको थियो । उत्पादित धानबाली गुमेकाले हिउँदे बालीको खेतीका लागि आवश्यक पर्ने बीउ, बिजन, मल र डिजलको जोहो गर्न समस्या भएको उनको भनाइ छ । “अरू वर्ष धान बेचेरै हिउँदे बालीको खेतीका लागि बीउबिजन, मलखाद जुटाउने गरेका थियौँ,” महतोले भने, “यस वर्ष धानै रहेन, के खाने भन्ने नै चिन्ता छ । ”

मुलुकमा तीन तहका सरकारका छन् तर बाढी प्रभावित आफूहरूले कुनै पनि तहका सरकारबाट सहयोग पाउन नसकेको किसानको गुनासो छ । किसानको चित्कारप्रति न सरकार न त राजनीतिक दलहरू नै गम्भीर देखिएको अर्का कृषक फूलराज चौधरीले बताए । “हाम्रो समस्या कसैले सुनिदिएको छैन,” उनले अगाडि थपे, “यदि मुलुकमा सरकार छ भने हामीलाई हिउँदे बालीको खेतीपातीका लागि सहयोग गरिदेओस् । ”

१० कट्ठा जमिनको धान नोक्सान भएका किसानलाई ४० केजी, १० कटरठादेखि एक बिघा जमिनको बाली नोक्सान भएका कृषकलाई ८० केजी गहुँको बीउ दिइने सो गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।

यसैगरी एकदेखि दुई बिघा र दुई बिघाभन्दा बढी जमिनको बाली नोक्सान भएका किसानलाई क्रमशः १२० र २४० केजी गहुँको बीउ दिइने उनले बताए ।