मुस्ताङ, १३ भदौः रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि मुस्ताङको घरपझोङ गाउँपालिका-३ जोमसोमस्थित पुथाङ गाउँसमाज (एयरपोर्ट)ले रु पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँसमाजको मौज्दात कोषको रकमबाट खर्च गर्ने गरी बाढीपीडितको सहयोगार्थ उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
आज बिहान समाजका गाउँमुखिया अनिल शेरचनको अध्यक्षतामा बसेको १५औँ समितिको बैठकले भोटेकाशी बाढीपीडितको सहयोगार्थ रु पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय भएको समितिका सचिव पेमा छेतेन विकले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपीडितको सहयोगार्थ तत्काल उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
गाउँमुखिया शेरचनले भोटेकोशी बाढीका कारण सयौँ नागरिकको मृत्यु भएको र सयौँ सम्पकैविहीन भएका भन्ने खबरले समाजलाई अन्त्यन्तै दुखित तुल्याएको बताउनुभयो । बाढीका कारण राष्ट्रिय सङ्कट आइपरेको भन्दै यस दुखद घडीमा सम्पूर्ण नेपाली एकताबद्ध भई विपद् व्यवस्थापनका लागि सहयोगमा जुट्न उहाँले आह्वानसमेत गर्नुभयो ।