भदौ १३, २०८३ शनिबार

चितवन, १३ भदौः अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) को मापदण्डअनुसार चितवनमा सङ्कलित शव जमिनमा गाड्ने (समाधिस्थ) गर्ने तयारी गरिएको छ । शव गाड्नका लागि भरतपुर महानगरपालिका-१ देवघाटको जङ्गलमा खाल्डो खन्ने काम भइरहेको छ । 

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलाका अनुसार आइसिआरसीको मापदण्डअनुसार लामो खाल्डो खन्नुका साथै बीचमा ४० सेन्टिमिटर फरकमा शव राखिने गरी तयारी भइरहेको छ । आज दिउँसो ४ः०० बजेसम्ममा शव जङ्गल लैजाने गरिएको छ । उहाँका अनुसार शवलाई सुताएर राखिने छ । शवको पहिचानका लागि शवसँग भुइँमा र माथि सङ्केत राखिनेछ । माथि फलामको ‘स्टेण्ड’ राखेर सङ्केत दिइने उहाँले जानकारी दिनुभयो । 

    अन्तरराष्ट्रिय मापदण्डअनुसार शवको पहिचान, अभिलेखीकरण र सम्मानजनक व्यवस्थापनलाई प्राथमिकता दिइने रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले बताउनुभयो । शव गाडिएको स्थानलाई पछि परिवारलाई जानकारी दिन वा पहिचान प्रक्रिया अघि बढाउन सकिने गरी स्पष्ट रूपमा चिन्ह लगाएर अभिलेखित गरिने उहाँले बताउनुभयो ।

    उहाँका अनुसार यदि कुनै शवलाई तुरुन्तै हस्तान्तरण गर्न नसकिने भएमा, सुरक्षित र सम्मानजनक रूपमा तोकिएको स्थानमा खाल्डो खनेर राम्रोसँग राखिनुपर्छ र त्यसको स्थान, सम्भव भएसम्म फोटो, पहिचानको विवरण र स्थानको स्पष्ट अभिलेख राख्नुपर्छ भन्ने अन्तरराष्ट्रिय रेडक्रसको मापदण्ड छ । 

    हालसम्म जिल्लामा २३३ वटा शव फेला परेका छन् । तीमध्ये छ वटा मात्रै सनाखत भएका छन् । बाँकी भरतपुर अस्पताल र अस्थायी शवगृहमा राखिए पनि शव कुहिन थालेकाले स्वास्थ्य जोखिम बढ्नसक्ने प्रहरी उपरीक्षक पौडलले बताउनुभयो । यससँगै पहिचान गर्न कठिन हुने भएपछि शवको डिएनए नमुना लिएर शव समाधिस्थ गर्न लागिएको हो । 

    जिल्ला सुरक्षा समितिको आजको बैठकले शव समाधिस्थ गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढेको हो । त्रिशूली र नारायणी नदीमा भेटिएका शव यहाँ ल्याइएको हो ।