काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । यसरी निरन्तर इजलास बहिष्कार गर्दा न्यायाधीशहरूको आलोचना बढ्न थालेको छ । यसप्रति गम्भीर हुँदै केही न्यायाधीशहरू भने इजलासमा फर्कने भएका छन् ।
आज नेपाल बार एशोशिएसनले सर्वोच्चका न्यायाधीशहरूसँग सामूहिक छलफल गरेकामा ६ जना न्यायाधीश अनुपस्थित भए । जसमध्ये न्यायाधीश ईश्वरीप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् ।
नयायाधीशहरू तेजकुमार केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल बारसँगको छलफलमा अनुपस्थित भए । उनीहरूको अनुपस्थिति अर्थपूर्ण छ । पाँचजना न्यायाधीशहरू इजलास बहिष्कारको निरन्तरताको विपक्षमा देखिएका छन् ।
प्रधानन्यायाधीशले वार्ताको आह्वान् गर्दा पनि बारले राजीनामाको अडान लिएपछि अधिकांश न्यायाधीशहरू गम्भीर भएका छन् । उनीहरूले वार्ताबाट समस्याको समाधान निकाल्नुपर्ने सुझावहरू अनौपचारिक रूपमा दिएको बुझिएको छ ।
निरन्तरको इजलास बहिष्कारको विपक्षमा न्यायाधीशहरु अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, हरि फुयाँल, नहकुल सुवेदीलगायत रहेको बुझिएको छ । सर्वोच्च अदालतमा इजलासमा विस्तारै न्यायाधीशहरू फर्कने र प्रधानन्यायाधीशको पक्षमा बहुमत न्यायाधीशहरू देखिने सम्भावना बढेर गएको छ ।
सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० न्यायाधीश छन् । जसमध्ये बहुमत प्रधानन्यायाधीश जबराको विपक्षमा देखिएका छन् । तर, भित्री रूपमा विस्तारै प्रधानन्यायाधीशको पक्षमा जाने गरी माहोल तयार भएको बुझिएको छ ।