काठमाडौँ । स्वतन्त्र न्यायपालिकाको माग राख्दै सडकमा उत्रिएका आन्दोलनकारीहरूले आफूहरू हरेक दिन एक हजार रुपैयाँ लिएर आन्दोलनमा सहभागी हुने गरेको बताएका छन् ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा स्वतन्त्र न्यायालयको माग राख्दै आन्दोलनमा सहभागी हुन आएकी एक महिलाले आफूहरूलाई दिनको एक हजार रुपैयाँ दिएर आन्दोलनमा सहभागी गराइएको बताएकी हुन् ।
‘हिजोमात्र आएको हजार रुपैयाँ दिएको थियो । आज चाहिँ नाम लेखाउन पाइएन, नलेखी दिन्छ कि दिँदैन भनेर बुझ्न आएको‚’ उनले भनिन् । पैसा लिएर गर्नुपर्ने कामका बारेमा सोध्दा ‘स्वतन्त्र न्यायपालिका हाम्रो चाहाना’ लेखिएको पर्चा देखाउँदै उनले भनिन्‚ ‘त्यहाँ बसेर कराउनुपर्ने ।’
पर्चा बोकेर ‘जिन्दावाद जिन्दावाद’ भन्नुपर्ने भन्दै उनले नाम नलेखाएकाले आज चाहिँ पैसा नपाइने हो कि भन्ने चिन्ता व्यक्ति गरिन् ।