भदौ १८, २०८३ बिहिबार

जेरुसेलम, १८ भदौ : अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयास गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रमुख विपक्षीभन्दा आफ्नै समर्थक दलबीचको मत विभाजन ठूलो चुनौती बनेको छ ।

    निर्वाचनमा नेतान्याहु समर्थक साना दलहरूको सङ्ख्या बढेसँगै उहाँको आधारभूत मत विभाजित हुने जोखिम बढेको हो । सरकारका कट्टरपन्थी मन्त्री इटामार बेन–गभिर र बेजलेल स्मोट्रिचले नेतृत्व गरेका दलसमेत अलगअलग चुनावी प्रतिस्पर्धामा छन् । नेतान्याहुले वैचारिक रूपमा निकट दलहरूलाई एकीकृत हुन आग्रह गर्दै ‘हामी एकजुट हुँदा जित्छौँ, विभाजित हुँदा हार्छौं’ भन्नुभएको छ ।

    इजरायलको निर्वाचन प्रणालीअनुसार संसद्को १२० मध्ये सिट जित्न कुनै दलले कम्तीमा ३.२५ प्रतिशत मत ल्याउनुपर्छ । कुनै दल उक्त सीमाभन्दा तल रहेमा उसका मत सिटमा परिणत हुँदैनन् । त्यसैले साना दलको मत विभाजनले नेतान्याहु नेतृत्वको गठबन्धनलाई आवश्यक ६१ सिटको बहुमत जुटाउन कठिन बनाउन सक्छ ।

    नेतान्याहुले करिब १७ वर्ष इजरायली राजनीतिमा प्रभाव राख्नुभएको छ । उहाँको पछिल्लो कार्यकाल हमासको अक्टोबर ७, २०२३ को आक्रमण, त्यसपछि गाजा, लेबनान र इरानमा भएका सैन्य सङ्घर्ष तथा सरकारविरुद्धका प्रदर्शनले प्रभावित बनेको छ । यी घटनाका कारण सरकारप्रति जनअसन्तुष्टि बढेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

    सन् २०२२ मा एउटै सूचीबाट चुनाव लडेका स्मोट्रिचको ‘रिलिजियस जियोनिज्म’ र बेन–गभिरको ‘यहुदी पावर’ यसपटक अलग प्रतिस्पर्धामा छन् । लिकुड पार्टीका पूर्वसदस्यहरूको नेतृत्वमा रहेका साना दल र पूर्व सैन्य जनरलको नेतृत्वमा बनेको राजनीतिक सूचीले पनि उही मतदातालाई आकर्षित गरिरहेका छन् ।

    सन् २०२१ मा साना दलले आवश्यक मतसीमा पार गर्न नसक्दा भएको मत विभाजनले नेतान्याहुको पराजयमा योगदान गरेको थियो भने सन् २०२२ मा विपक्षीबीचको प्रतिस्पर्धाले उहाँलाई पुनः सत्तामा फर्कन सहज बनाएको थियो । त्यसैले यसपटक पनि साना दलको प्रदर्शन उहाँका लागि निर्णायक बन्न सक्नेछ ।

    निर्वाचनअघि दलहरूलाई सेप्टेम्बर ८ सम्म एकीकरण गर्ने, प्रतिस्पर्धाबाट बाहिरिने वा अलगै चुनाव लड्ने निर्णय गर्नुपर्नेछ । बुधबार एउटा सानो दल स्मोट्रिचको सूचीमा सहभागी हुन सहमत भएको छ ।

    निर्वाचन नजिकिँदै जाँदा नेतान्याहुले आफ्ना समर्थकलाई एकताबद्ध हुन आग्रह गर्दै आफूले मात्र हमासलाई पराजित गर्न र प्यालेस्टिनी राज्य स्थापना रोक्न सक्ने दाबी गर्नुभएको छ । उहाँले विपक्षीलाई ‘वामपन्थी’ भन्दै उनीहरू सत्तामा आए देशका लागि गम्भीर परिणाम आउने चेतावनी दिनुभएको छ ।

    यसपटक नेतान्याहुका लागि विपक्षीलाई पराजित गर्नुजत्तिकै आफ्नै राजनीतिक आधारलाई विभाजित हुनबाट जोगाउनु महत्त्वपूर्ण बनेको छ । साना दलबीचको एकता वा विभाजनले उहाँको पुनः सत्तारोहणको सम्भावनामा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ ।