वासिङ्टन, १८ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मध्यावधि निर्वाचनमा कठिन अवस्थामा रहेका रिपब्लिकन उम्मेदवारका पक्षमा सक्रिय प्रचार गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीले ठूलो विजय हासिल गर्ने दाबी गर्नुभएको छ ।
ह्वाइट हाउसमा बुधबार रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजमा उहाँले कङ्ग्रेसको नियन्त्रण निर्धारण गर्ने करिब ३५ प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रमा प्रचार गर्ने बताउनुभएको हो । निर्वाचनअघि करिब ३० दिन ती क्षेत्रमा केन्द्रित भएर अभियान सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।
ट्रम्पले अर्थतन्त्र, औषधिको मूल्य घटाउने प्रयास र सीमापार अवैध गतिविधिमा आएको कमीलाई आफ्नो प्रशासनका उपलब्धिका रूपमा प्रस्तुत गर्दै मतदातासमक्ष त्यसबारे प्रचार गर्न सांसदहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले गरेका कामबारे मतदातालाई बताउनुपर्छ, त्यसपछि हामी ठूलो जित हासिल गर्नेछौँ ।”
आर्थिक अवस्था र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टिका कारण रिपब्लिकन उम्मेदवार दबाबमा रहेका बेला ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेटका महत्त्वपूर्ण निर्वाचनमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । उहाँले अलास्काका रिपब्लिकन सिनेटर डान सुलिभान र टेक्सासका रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई विशेष रूपमा उल्लेख गर्नुभयो ।
ट्रम्पले यस वर्षको प्राइमरीमा प्याक्सटनलाई समर्थन गर्नुभएको थियो । उहाँले प्याक्सटनको सार्वजनिक प्रस्तुतिको आलोचना गरे पनि देशकै उत्कृष्ट महान्यायाधिवक्तामध्ये एक भएको बताउनुभयो ।
मध्यावधिमा सत्तारूढ दल कमजोर हुने परम्परा रहेको उल्लेख गर्दै ट्रम्पले यसपटक त्यसलाई परिवर्तन गर्ने दाबी गर्नुभयो । “तपाईं असल राष्ट्रपति होस् वा महान् राष्ट्रपति, मध्यावधिमा हार्नुहुन्छ”, उहाँले भन्नुभयो, “तर हामी यसलाई परिवर्तन गर्न गइरहेका छौँ ।”
कङ्ग्रेसमा रिपब्लिकनको नियन्त्रण कायम राख्न आगामी निर्वाचन महत्त्वपूर्ण भएकाले ट्रम्पको सक्रिय चुनावी अभियानलाई अर्थपूर्ण रूपमा हेरिएको छ । करिब ३५ प्रतिस्पर्धात्मक क्षेत्रमा रिपब्लिकनको प्रदर्शनले आगामी कङ्ग्रेसको शक्ति सन्तुलन निर्धारण गर्नेछ ।