भदौ १८, २०८३ बिहिबार

वासिङ्टन, १८ भदौ : शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको पानी असामान्य रूपमा तातिरहेका बेला महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय भएका छन् । वैज्ञानिकहरूले यस्तो अवस्था दुर्लभ भएको बताएका छन् ।

    उष्णकटिबन्धीय आँधी ‘मेरी’ बुधबार राति बाजा क्यालिफोर्नियाको तटमा पुग्दा तूफानमा परिणत भएको हो । यसअघि ‘करिना’ र ‘लोवेल’ नामका दुई श्रेणी–४ का तूफान प्रशान्त पार गर्दै पश्चिमतर्फ अघि बढिरहेका थिए ।

    मिशिगन विश्वविद्यालयकी जलवायु वैज्ञानिक जुलिया कोलले तातो समुद्री पानीले तूफानलाई ठूलो ऊर्जा दिने र एल निनोका कारण प्रशान्त क्षेत्रमा ठाडो हावाको प्रभाव कम हुँदा शक्तिशाली तूफान विकासका लागि अनुकूल अवस्था बन्ने बताउनुभयो ।

    राष्ट्रिय तूफान केन्द्रका अनुसार ‘लोवेल’ हवाईको हिलोबाट करिब ७१० किलोमिटर दक्षिणमा रहेको छ र आगामी केही दिन शक्तिशाली रहने अनुमान छ । यसबाट हवाईका केही क्षेत्रमा जोखिमपूर्ण समुद्री छाल र प्रतिकूल मौसम उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । ‘करिना’ केही कमजोर भए पनि आगामी दुई दिनसम्म तूफानकै रूपमा रहने तथा ‘मेरी’ शुक्रबारसम्म थप शक्तिशाली बन्न सक्ने अनुमान गरिएको छ ।

    मियामी विश्वविद्यालयका वायुमण्डलीय वैज्ञानिक बेन्जामिन किर्टम्यानले पछिल्ला दुई दशकमा विश्वको जलवायु प्रणाली उल्लेख्य रूपमा तातेको र समुद्रको सतहको तापक्रम रेकर्ड उच्चको नजिक पुगेको बताउनुभयो ।

    यसअघि सन् २०१५ को शक्तिशाली एल निनोका बेला पनि प्रशान्तमा एकै समयमा ‘किलो’, ‘इग्नासियो’ र ‘जिमेना’ सहित चार प्रणाली सक्रिय भएका थिए ।

    अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनका अनुसार यस वर्षको एल निनो रेकर्डमै सबैभन्दा शक्तिशालीमध्ये एक बन्ने सम्भावना ६९ प्रतिशत छ । यसको प्रभाव विश्वका विभिन्न क्षेत्रमा चरम मौसमका रूपमा देखिन थालेको छ । पेरुमा समुद्रको बढ्दो तापक्रमले एन्कोभी माछा उत्पादनमा असर पारेको छ भने सुडानमा वर्षा ढिलाइ हुँदा नाइल नदीको पानीको सतह घटेको बताइएको छ ।

    एल निनो उष्णकटिबन्धीय प्रशान्त महासागरमा हुने प्राकृतिक जलवायु चक्रको तातो चरण हो । यसले कतिपय क्षेत्रमा गर्मी र खडेरी तथा अन्य क्षेत्रमा चिसो र बढी वर्षा गराउन सक्छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण एल निनोसँग सम्बन्धित वर्षा, खडेरी र अन्य चरम मौसमी प्रभाव अझ तीव्र हुन सक्छन् ।
–––