गण्डकी, २० भदौः पोखरास्थित लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानद्वारा गायक तथा सङ्गीतकार धनबहादुर गुरुङ सम्मानित हुनुभएको छ । शुक्रबार आयोजित संस्कृतिकर्मी लोकबहादुर गुरुङको १२औँ स्मृति दिवसका अवसरमा गायक गुरुङलाई नगद रू ५१ हजारसहित सम्मान गरिएको हो ।
गुरुङ समुदायको भाषा, संस्कृति, कला र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा पु¥याएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले हरेक वर्ष संस्कृतिकर्मी गुरुङको स्मृतिमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको गण्डकी प्रदेशसभाका सदस्य एवं प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङले बताउनुभयो ।
कार्यक्रममा नेपाली तथा गुरुङ कला–संस्कृतिको क्षेत्रमा लोकबहादुर गुरुङले पु¥याएको योगदानको स्मरण गर्दै उहाँका योगदान र सिर्जनालाई नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा जोड दिइएको थियो ।
सम्मान ग्रहण गर्दै गायक तथा सङ्गीतकार धनबहादुर गुरुङले आफूले कला, सङ्गीत र संस्कृतिको क्षेत्रमा गर्दै आएको योगदानको कदरस्वरूप प्राप्त सम्मानले थप जिम्मेवारी र ऊर्जा प्रदान गरेको बताउनुभयो । गुरुङ समुदायको मौलिक कला, भाषा, संस्कृति र संगीतको संरक्षणमा निरन्तर लागिपर्ने उहाँको भनाइ छ ।