भदौ २०, २०८३ शनिबार

इलाम, २० भदौः माङसेबुङ गाउँपालिका-२ काब्राबोटेका किसान पृथीमान जवेगूले परम्परागत खेतीको विकल्पमा रुद्राक्षलाई आम्दानीको स्रोत बनाउँदै आउनुभएको छ । उहाँले १० वर्षदेखि रुद्राक्षखेती गर्दै आउनुभएको हो । खेतीयोग्य जमिनमा रुद्राक्ष रोप्नुभएका जवेगूले अहिले वार्षिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । 

    उहाँले १८ रोपनी क्षेत्रमा ३०० वटा रुद्राक्षका बोट रोप्नुभएको छ । विसं २०७३ मा सङ्खुवासभाबाट प्रतिगोटा रु २०० का दरले बिरुवा खरिद गरेर रुद्राक्ष रोपेको किसान जवेगूले बताउनुभयो । चार वर्षपछि सबै बोटले उत्पादन दिन थालेका उहाँले बताउनुभयो । “सङ्खुवासभाको कुस्वाबेँसीबाट प्रतिगोटा रु २०० का दरले ३०० वटा रुद्राक्षको बिरुवा ल्याएर खेतीयोग्य बारीमा रोपेको हुँ”, उहाँले भन्नुभयो, “चार वर्षपछि उत्पादन सुरु भयो । विसं २०७७ देखि बर्सेनि रु दुई लाख कमाइ भइरहेको छ ।”

    रुद्राक्षलाई अन्य बालीजस्तो धेरै मेहनत गरिरहन नपर्ने भएकाले आम्दानी सबै बचत हुने जवेगूले जानकारी दिनुभयो । सुरुमा बिरुवा किन्न, खाडल निर्माण, मल तथा सिँचाइ व्यवस्थापनमा खर्च भए पनि बोट हुर्केपछि कुनै खर्च नहुने उहाँले बताउनुभयो । अन्य अन्नबाली बर्सेनि लगानी र श्रम गर्नुपर्ने तर रुद्राक्ष एकपटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ । 

    किसान जवेगूले उत्पादित रुद्राक्ष बिक्रीका लागि बजार समस्या नरहेको बताउनुभयो । सङ्खुवासभाका व्यापारीले बोटबाट वार्षिक रु दुई लाख दिने शर्तमा ठेक्का सम्झौता गरी लैजाने गरेका उहाँले सुनाउनुभयो । “रुद्राक्ष बिक्रीका लागि मैले केही गर्न पर्दैन । उत्पादन भएपछि उहाँहरू आउनुहुन्छ । दाना आफैँ हेर्नुहुन्छ । आवश्यक पर्नेजति छानेर लैजानुहुन्छ”, उहाँले भन्नुभयो, “ठेक्का सम्झौता अनुसार मूल्य दिने गर्नुभएको छ ।”

    विगतमा परम्परागत रूपमा मकै, कोदोलगायत अन्नबाली खेती गर्दै आउनुभएका जवेगूले रुद्राक्षबाट कम मेहनतमा तुलनात्मक रूपमा बढी आम्दानी लिन सकिने बताउनुभयो । अहिले रुद्राक्षबाट हुने आम्दानीले उहाँको घरखर्चमा प्रत्यक्ष सहयोग पुगेको छ । “पहिले कडा मेहनत गर्दा समेत अन्नबालीबाट घरखर्च चलाउन मुस्किल पर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले बर्सेनि नियमित आम्दानी भइरहेको छ, यसले जीविकोपार्जन सहज भएको छ ।”

    रुद्राक्षखेतीबाट नियमित आम्दानी हुन थालेपछि किसान जवेगूले आगामी दिनमा रुद्राक्षको खेती विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । आगामी वर्ष नयाँ जमिनमा रुद्राक्ष रोप्ने योजना बनाएको बताउँदै गाउँका अन्य किसानलाई पनि रुद्राक्ष खेतीबारे जानकारी र सल्लाह दिने गरेको उहाँले उल्लेख गर्नुभयो ।

    माङसेबुङमा पहिलोपटक जवेगूले व्यावसायिक रूपमा रुद्राक्षखेती सुरु गर्नुभएपछि अन्य किसानले पनि परीक्षणका लागि थोरै क्षेत्रमा रुद्राक्ष रोप्न थालेका छन् । स्थानीयस्तरमा प्राविधिक सहयोग, गुणस्तरीय बिरुवा र बजार व्यवस्थापनमा ध्यान दिन सके रुद्राक्षखेतीलाई व्यावसायिक रुप दिन सकिने जवेगूको भनाइ छ । “रुद्राक्षबाट गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकैपटक ठूलो रकम प्राप्त गर्न सकिन्छ । सबै दानाको मूल्य एउटै हुँदैन । स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउछन्”, उहाँले भन्नुभयो ।

    रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । रुद्राक्षको दानाको मूल्य मुखअनुसार फरकफरक निर्धारण हुने किसान जवेगूले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्यतया आठदेखि २९ मुखेसम्मका दानालाई ‘मुखदार’ रुद्राक्ष मानिन्छ । “व्यापारीका अनुसार रुद्राक्षको मुखको सङ्ख्या जति धेरै हुन्छ, त्यति दुर्लभ र मूल्यवान मानिने भएकाले यसक बजार सोहीअनुसार उच्च हुने गर्दछ”, उहाँले भन्नुभयो ।

    रुद्राक्षका दाना धार्मिक तथा सांस्कृतिक प्रयोजनक साथै माला, गहना र विभिन्न सामग्री बनाउन प्रयोग हुने भएकाले बजारमा यसको माग बढिरहेको जवेगूको बुझाइ छ । धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च रहेको व्यावसायीहरू बताउँछन् । 

    रुद्राक्ष समुद्री सतहबाट करिब एक हजार ८०० मिटरको उचाइमा खेती गर्न सकिने विज्ञहरूको भनाइ छ । यसका लागि मट्याइलो, पारिलो र घमाइलो जग्गा उपयुक्त मानिन्छ । यसको बिरुवा वर्षायामअर्थात् असारदेखि असोजसम्म १० मिटरको फरक पारेर रोप्नु उपयुक्त मानिन्छ । तराईदेखि मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने यो नगदेवृक्ष फल दिन थालेपछि पचासौँ वर्षसम्म फल दिइरहन्छ ।