जुम्ला, १८ भदौः जुम्लाका किसान यतिबेला स्याउ टिप्ने चटारोमा छन् । आवश्यक परिपक्वता तथा गुलियोपन भरिएसँगै किसान यतिबेला बगैँचामा भेटिन थालेका छन् । उनीहरूलाई यतिबेला स्याउ टिप्न भ्याइनभ्याइको अवस्था रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।
घरमै प्रतिकिलो रु ९० मा स्याउ बिक्री हुने गरेको छ । गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगन्ज लैजाने गरेका छन् । स्थानीय नर रावतले यस वर्ष उल्लेख्य मात्रामा स्याउ फलेको जानकारी दिनुभयो ।
चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी लछी भण्डारीका अनुसार किसानका बगैँचामा पुगेर स्याउ खरिद गर्न थालिएको छ । करिब ९१ क्न्विटल स्याउ खरिद गरिएको छ । थप ९०० कार्टुन खरिदका लागि किसानको स्याउका बगैँचामा पुगेको उहाँले बताउनुभयो ।
यहाँको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउखेती गरिएको छ । यहाँका ५२ किसान मिलेर सामूहिक रूपमा स्याउखेती गरेका छन् । यो वर्षमात्र छ हजार ५०० बिरुवाले फल दिन थालेको छ । उक्त स्याउ बगैँचामा करिब ३४ देखि ३५ मेट्रिक टन अनुमानित स्याउ उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।
सो बगँैचाबाट मात्र ३० लाखबराबरको स्याउ बिक्री हुने अनुमान गरिएको छ । अहिले जिल्लाभर औसत रूपमा प्रतिकेजी रु ९० मा व्यापारीले स्याउ खरिद गरेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीको भनाइ छ । जिल्लाबाट निर्यात भएको स्याउको एकिन तथ्याङ्क राख्न जुम्ला र कालीकोटको सिमानामा रहेको नाग्म प्रहरी चौकीलाई जिम्मा दिएको कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन केही घटेको अनुमान गरिएको छ । सही तथ्याङ्क आउन केही समय लाग्ने छ । यहाँका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिने गरेको छ ।
गोल्डेन जातको स्याउ असोज लागेपछि राम्रोसँग पाक्ने हुँदा हाल स्थानीय जातको मात्रै बिक्री वितरण भएको छ । विशेषगरी सडक सञ्जालसँग जोडिएका बगैँचाका स्याउ सङ्कलन गरेर व्यापारीले तराईका जिल्लामा बिक्रीका लागि लगिसकेका छन् ।
हालसम्म जिल्लामा उत्पादित मध्ये ३० प्रतिशत स्याउ जिल्लाबाट निर्यात भइसकेको छ । जुम्लामा झन्डै ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुने गरेको छ । चालु आवमा दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने छ । जिल्लामा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको छ ।