मंसिर १, २०७८ बुधबार

महेश सिंह सिरहा लहान १ मंसिर- सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १३ दुर्गापुरका देवेन्द्र महतो घरको आर्थिक अवस्था कमजोर भएकै कारण बाध्य भई गाउँमै ऋण सापट गरी वैदेशिक रोजगारीमा खाडी मुलुक कतार पुगेका थिए। उच्च शिक्षा अध्ययन गरेका ३८ वर्षीय युवाले वैदेशिक रोजगारीबाट करीब ७ वर्षपछि घर फर्केर विदेशमा दु:ख गरेर कमाएको पैसाबाट गाउँमा करीब १ बिघाबढी जग्गा खरिद गरेका छन्।

महतोको भए भरको पैत्रिक जग्गा जमिन गाउँको नजिकै रहेको गाङ्गन खोलाले कटान गरी सकेको अवस्था छ।

महतोले आफ्नै गाउँमा करीब पाँच बिघा जग्गामा तरकारी खेती गर्न लागेका छन्। वर्षमा लागत कटाएर उनले करीब एक लाख आम्दानी गर्न सफल भएका छन् । मौसमअनुसारका विभिन्न जात जातिका तरकारी उत्पादन गर्ने गरेका छन्। 

उत्पादन भएको तरकारी नजिकै रहेको गोलबजार, चोहर्वा, धनगढी र लहानलगायतका बजारमा बिक्रीवितरण गर्ने गरेका छन्। महतो आफू बिदेशबाट फर्केर गाउँमा तरकारी खेती गर्न लाग्दा गाउँका दर्जनौं बेरोजगार महिला पुरुषहरूलाई रोजगारी दिएका छन्।