भदौ २०, २०८३ शनिबार

त्रिशूली (नुवाकोट), २० भदौः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताउनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको आज विदुरमा बसेको बैठकमा सञ्चारमन्त्री डा तिमिल्सिनाले भोटेकोशी बाढीले प्रभावित बनाएको क्षेत्रमा विपद्पश्चात् निरन्तर विभिन्न माध्यमबाट खोज तथा उद्धार र उपचारसहित प्रभावितलाई सुरक्षित तथा उपयुक्त आश्रयस्थल (होल्डिङ सेन्टर) मा बसोबासको प्रबन्ध मिलाएको जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढी संयुक्त सुरक्षाफौजको जनशक्ति, प्रभावितको खोज तथा उद्धारका लागि दैनिक २५ वटासम्म हेलिकप्टरसहित आवश्यक यन्त्रउपकरण र सहायता सामग्रीमार्फत जतिसक्दो छिट्टो उद्धार गरेर अब पुनर्उत्थानतर्फ केन्द्रित हुन लागेको उहाँले स्पष्ट पार्नुभयो ।

“बाढी प्रभावित क्षेत्रमा स्थलदेखि हवाईमार्गमार्फत कहीँकतै उद्धारमा ढिलो भयो भन्ने गुनासो आउन नदिई गरिएको उद्धारमा कुनै कमजोरी हुन दिएका छैनौँ”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “खोज तथा उद्धारसहित नागरिकको पुरिएका व्यक्तिगत धनसम्पत्ति सुरक्षितपूर्वक निकाल्न अहिले पनि सुरक्षाकर्मी निरन्तर प्रभावित क्षेत्रमा खटिएका छन् ।”

बाढीले पुर्याएको क्षतिपश्चात् उद्धारका क्रममा जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि अहोरात्र सक्रिय रहेर केही सुखद् नतिजासमेत निकाल्न सफल भएकाले त्यसलाई ढिलो भयो भन्न नहुने उहाँले स्पष्ट पार्नुभयो । सुरुङमार्गमा बाढीले क्षति पुर्याएसँगै कुनै नामोनिसान नरहने गरेर भएको क्षतिमा प्रवेशबिन्दु पहिचान, दिनरात नभनी सुरक्षाकर्मीबाट भइरहेको खोज तथा उद्धारमार्फत नै जीवन बचाउन सफलता पाएको हुँदा अहिलेको यो ठूलो विपद्पश्चात खोज तथा उद्धारसहित व्यवस्थापनमा सरकारको सक्रियताबाट प्रभावकारी उपलब्धि निकाल्न सकेको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले खोज तथा उद्धारका लागि अहिले पनि सुरक्षाकर्मी निरन्तर खटिरहेकाले पुग्न र पहुँच राख्न कहीँ पनि बाँकी नराखी एउटा व्यक्तिको ज्यान बच्छ भने कति खर्च लाग्छ भन्ने हिसाब नराखी हराएका व्यक्तिको अवस्था खोज्न राज्यले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउनुभयो । यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले पुर्याएको क्षतिको पुनर्उत्थानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजनाको कार्यक्रम ल्याउन लागेकाले अहिले नै क्षतिग्रस्त स्थानमा नै बस्ती निर्माणको तयारीमा नलाग्न उहाँले अनुरोध गर्नुभयो ।

“बाढीले क्षति पुर्याएको स्थान वेत्रावतीलाई पुनः पहिलेको जस्तै उठाउनुपर्छ भन्ने आवाजहरू सुन्न थालेको छु”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “अहिलेको जस्तो विध्वंश आगामी दिनमा पनि नआउला भन्न सकिन्न । जनतालाई सुरक्षित स्थानमा आवासको प्रबन्ध गर्न सरकारले सहयोग एवं अनुदानसहितको योजना ल्याउन लागेको छ । बस्तीलाई क्षति पुर्याएर बगर भएका स्थानमा बस्ती बसाल्न हतारिनुहुन्न । वेत्रावतीलाई अहिलेको स्थानमा नै नभई सुरक्षित स्थानमा वेत्रावतीको रूपमा उठाउन राज्य नै लागिपर्दछ ।”

बाढीले भौतिक संरचनामा क्षति पुर्याएसँगै असहज भएको दैनिकी सहज बनाउन सरकारले पूर्वाधार निर्माणका विभिन्न पक्षमा एकसाथ काम अघि बढाएको छ । त्यसमा तीन तहमा रहेको सरकारबीच प्रभावकारी समन्वयमार्फत नै अवरुद्ध बनेको सडकमा वैकल्पिकमार्ग खोल्ने, बगेका पक्की पुल भएका स्थानमा बेलीब्रिज जडान गर्नेलगायत सक्दो प्रयास निरन्तर भइरहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिका संंयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बाढीबाट भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार बाढीका कारण नुवाकोटमा दुई हजार ६०४ जना बेपत्ता भएका छन् । त्यसमध्ये अहिलेसम्म १९३ शव बरामद भएको छ । घाइते भएका ६६ जनाको विभिन्न अस्पतालमा उपचार भरहेको छ । प्रभावित बस्तीका दुई हजार ७१४ जनालाई विभिन्न २५ स्थानमा होल्डिङ सेन्टरमा राखिएको छ ।