भदौ २०, २०८३ शनिबार

काठमाडौँ, २० भदौः यस वर्षको युवा वर्ष मोती पुरस्कार युवा सर्जक इन्द्रबहादुर चौधरीलाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय युवा कोषको आज बसेको बैठकले कञ्चनपुरका सर्जक चौधरीलाई रु ४० हजार नगदसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनोट समितिका सदस्य डा बमबहादुर थापा ‘जीताली’ले जानकारी दिनुभयो । कोषले पुरस्कार छनोटका लागि प्राध्यापक रामकुमार पाण्डेको संयोजकत्वमा भाषासेवी रमा शर्मा, डा बमबहादुर थापा ‘जीताली’, जीवनाथ धमला र प्रा डा खुमनारायण पौडेल सदस्य तथा डा विष्णुबहादुर भण्डारी सदस्यसचिव रहेको मूल्याङ्कन समिति गठन गरेको थियो ।

नेपाली साहित्यका माध्यमिककालका प्रवर्तक तथा राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको स्मृतिमा स्थापित उक्त पुरस्कार हरेक वर्ष भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याउने युवा प्रतिभालाई प्रदान गरिँदै आएको छ । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा सक्रिय रहेका सर्जकलाई प्रोत्साहित गर्ने उद्देश्यले २०४२ सालमा राष्ट्रिय युवा सेवा कोषको स्थापना भएको हो ।