मंसिर २, २०७८ बिहिबार

काठमाडौं : सर्वोच्च बार एसोसिएसनसँगको छलफलमा १९ जना न्यायाधीश नै संयुक्त इजलासमा नबस्ने सहमति भएको बारका एक पदाधिकारीले बताएका छन् । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० न्यायाधीश छन्। 

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यका अनुसार मंगलबार र बुधबार न्यायाधीशसँग छलफल भएको थियो।

छलफलमा न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ,  कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालले प्रधानन्यायाधीश जबराले राजीनामा गरेर सहजीकरण गर्नुपर्नेे बताएका थिए। यी पाँच न्यायाधीशले बन्दीप्रत्यक्षीकरणलगायत अन्य सामान्य मुद्दा हेरिरहेका छन्। 

गरिबका मुद्दामा चिन्ता

प्रधानन्यायाधीशले राजीनामा गरेर निकास नगरेसम्म कुनै पनि हालतमा सहयोग नगर्ने अडानमा न्यायाधीशहरू छन्।  न्यायाधीशहरूले विपन्न समुदायका मुद्दा भने हेर्ने जनाएका छन्। ‘बारको आन्दोलनलाई निस्तेज नपार्ने गरी गरिबका मुद्दाहरू सुनुवाइ गर्ने वातावरण बनाउनुपर्छ,’ न्यायाधीशको भनाइ उदधृत गर्दै स्रोतले भन्यो। 

बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै दिनहुँ सर्वोच्च मूलगेटमा धर्ना दिइरहेको छ। छलफलमा सहभागी एक न्यायाधीशले भने, ‘बारको आन्दोलनलाई कुनै असर नपर्ने 
गरी टाढा टाढाबाट आउने असहाय, गरिबका मुद्दा हेर्ने विकल्प के हुन सक्छ ? भन्ने दृष्टिकोण राखेका छौं।’ इजलासलाई लामो समयसम्म बन्धक राख्न नहुने न्यायाधीशले बताएका थिए।