जनक श्रेष्ठ
लमजुङ, २४ भदौ : केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे । प्रत्येक गाउँमा देखिने त्यस्ता परम्परागत घर अहिले कहाँ छ भनी खोज्नुपर्ने अवस्था छ । आधुनिकताको आकर्षणसँगै देशकै पहिचान त्यस्ता पुराना घुमाउने घर भत्काइँदैछ । त्यस्ता घर अहिले जिल्लामै औँलामा गन्न सकिनेछ ।
क्व्होलासोथार गाउँपालिका–४ भुजुङका वडाध्यक्ष नारायण गुरुङका अनुसार केही वर्षअघिसम्म गाउँमा घुमाउने शैलीका धेरै घर थिए । अहिले भने त्यस्ता मौलिक घर एउटामात्र बाँकी छ । करिब छ वर्षअघि स्थानीय संस्कृति र परम्परा चिनाउने उद्देश्यले अर्को घुमाउने घरलाई सङ्ग्रहालयका रूपमा रुपान्तरण गरिएको छ । त्यस सङ्ग्रहालयमा पुग्ने पर्यटकले परम्परागत घरको अवलोकन गर्ने, तस्बिर खिच्ने र गाउँको मौलिकता नियाल्ने गर्दै आएका छन् ।
“पहिले टोलैपिच्छेजस्तो घुमाउने घर हुन्थ्यो, अहिले एउटामात्र बाँकी छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो । विद्युत् र आधुनिक प्रविधिको पहुँच नहुँदा घुमाउने घर गाउँलेका लागि केवल बस्ने ठाउँ थिएन, मौसमअनुकूल जीवनको भरपर्दो आधारसमेत थियो ।
जाडोमा न्यानो हुने, भित्र कोठा छुट्याएर प्रयोग गर्न सकिने र बलियो हुने भएकाले यस्ता घर पुस्तौँसम्म टिक्थे । सानो आकार र एकतले संरचनाका यस्ता घरमा स्थानीय स्रोतसाधनकै प्रयोग हुन्थ्यो । ढुङ्गा, माटो र काठको संरचनामाथि खरको छानाले गाउँको प्राकृतिक परिवेशसँगै मौलिक वास्तुकलाको परिचय दिन्थ्यो । भुजुङमा बाँकी रहेको पुरानो घुमाउने घर करिब एक सय वर्षभन्दा पुरानो मानिन्छ ।
वडाध्यक्ष गुरुङका अनुसार उक्त घर तत्कालीन जिम्माल तथा प्रधानपञ्च लालपट्टी गुरुङको हो । उहाँको परिवार अहिले त्यहाँ बस्दैन । तर घर अझै प्रयोगमा छ । समयसँगै पुस्ता फेरिए पनि घरले गाउँको पुरानो जीवनशैली र निर्माण सीपको सम्झना बोकेको छ । सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोटमा पनि घुमाउने घरको अवस्था उस्तै छ । स्थानीयका अनुसार केही वर्षअघिसम्म त्यहाँ १०–११ वटाभन्दा बढी घुमाउने घर थिए । अहिले भने दुईदेखि चार वटासम्म मात्र बाँकी छन् । पुराना घर भत्काएर आधुनिक पक्की घर निर्माण गर्ने क्रम बढेसँगै परम्परागत घरको सङ्ख्या घट्दै गएको हो ।
राइनास नगरपालिका–९ राइनासकोटमा भने हराउँदै गएको परम्परालाई जोगाउने प्रयास गरिएको छ । स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तालाई मौलिक घरबारे चिनाउने उद्देश्यले केही वर्षअघि परम्परागत शैलीको घुमाउने घर निर्माण गरिएको छ । स्थानीय तथा राइनास होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बालसिंह गुरुङका अनुसार विगतमा राइनासकोटमा पाँचवटासम्म घुमाउने घर थिए । अहिले एउटामात्र बाँकी छ । हराउँदै गएको परम्परालाई जोगाउने उद्देश्यले उक्त घरलाई संरक्षण गरेर राखिएको उहाँले बताउनुभयो । “बाँकी रहेको एउटा घुमाउने घर संरक्षण गरेर राखेका छौँ । होमस्टेमा आउने पर्यटक त्यहाँ पुगेर घर हेर्ने, तस्बिर तथा भिडियो खिच्ने र घुमाउने घर यस्तो रहेछ भनी विशेषताबारे जानकारी लिने गर्छन्”, अध्यक्ष गुरुङले भन्नुभयो ।
संरक्षण गरिएको घुमाउने घर स्थानीयका लागि पुरानो संरचना जोगाउने माध्यममात्र नभई होमस्टेमा आउने पर्यटक आकर्षित गर्ने स्रोत बनेको छ । हराउँदै गएको परम्परागत वास्तुकलालाई पर्यटनसँग जोडेर जीवित राख्न सकिने सम्भावना यस्ता संरचनाले देखाएको छ । मस्र्याङ्दी गाउँपालिका–३ ढक्कै स्थानीय पूर्णबहादुर गुरुङले पुराना घुमाउने घर भत्काएर आधुनिक घर निर्माण गर्ने क्रम बढेपछि मौलिक संरचना हराउँदै गएको प्रतिक्रिया दिनुभयो ।
उहाँका अनुसार भविष्यमा पुरानै शैलीको घुमाउने घर निर्माण गर्न कठिन हुनसक्छ । तथापि गाउँको मौलिक स्वरूप जोगाउने अर्को बाटो खोज्न सकिन्छ । “भविष्यमा पुरानै शैलीको घुमाउने घर बनाउन सम्भव नहोला, तर गाउँघरको टिपिकल स्वरूप झल्किने घर सिमेन्टलगायत आधुनिक सामग्री प्रयोग गरेर भए पनि निर्माण गर्ने सोच छ”, उहाँले भन्नुभयो ।
एक दशकअघिसम्म जिल्लाका ग्रामीण बस्तीमा सयौँको सङ्ख्यामा विशेषगरी खरले छाएका पुराना घुमाउने घर अहिले औँलामा गन्न सकिने अवस्थामा पुगेपछि स्थानीय बुढापाका चिन्तित हुनुहुन्छ । उहाँहरूका अनुसार अहिले घुमाउने घर दुर्लभ बन्दै गएका छन् ।
घुमाउने घर हराउनु भनेको एउटा पुरानो भवनमात्र नभई यससँगै स्थानीय सीप, वास्तु परम्परा, जीवनशैली र मौलिक पहिचान पनि लोप हुँदै जानु हो । नेपाली मौलिक पहिचान झल्कने यस्ता बाँकी घरको अभिलेखीकरण, संरक्षण र पुनर्निर्माणसँगै नयाँ पुस्तालाई महत्व बुझाउन आवश्यक रहेको स्थानीयको भनाइ छ । पर्यटनसँग जोडेर यस्ता सम्पदालाई जीवित राख्ने प्रयासले मात्र परम्परा र आधुनिकतालाई जोडेर लैजान सकिने छ ।