काठमाडौँ, २४ भदौः अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल) मा आज जित हात पारेको छ । चार खेलमा अन्नपूर्णको यो तेस्रो जित हो ।
एक्सट्रिम इनर्जी ड्रिङ्कको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई २५–१५, २५–१५ र २९–२७ अङ्कको सोझो सेटमा पराजित ग¥यो । अन्नपूर्णका एन्ख–एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए ।
पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ सेटमा पराजित अन्नपूर्णले लगातार जित हासिल गर्दै आएको छ । अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० तथा मधेस वारियर्सलाई ३–१ सेटले हराएको थियो । खप्तडको भने चार खेलमा यो लगातार हार हो । हारसँगै खप्त प्रतियोगिताबाट बाहिरिएको छ । खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोस्रोमा कर्णाली र तेस्रोमा मधेससँग समान ३–० को सोझो सेटमा हारेको थियो ।
नेपाल भलिबल सङ्घको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा छ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।
नेपाल भलिबल लिगको कूल पुरस्कार राशि रु ३२ लाख रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले रु २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल खेल यही भदौ २७ गते हुनेछ ।
–––