भदौ २४, २०८३ बुधबार

मस्को, २४ भदौ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने आगामी शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय बैठक गर्ने सम्भावनाबारे छलफल गरेको क्रेमलिनले बुधबार जनाएको छ।

    एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक)को शिखर सम्मेलन आगामी नोभेम्बर १८ र १९ मा चिनियाँ सहर शेन्जेनमा आयोजना हुँदैछ।

    रुसले पुटिन शिखर सम्मेलनमा सहभागी हुने सङ्केत गरिसकेको छ। यद्यपि, ट्रम्प सम्मेलनमा सहभागी हुने वा नहुनेबारे ह्वाइट हाउसले अहिलेसम्म घोषणा गरेको छैन।

    मङ्गलबार भएको टेलिफोन वार्ताका क्रममा ट्रम्प र पुटिनबीच शेन्जेनमा सीसँग त्रिपक्षीय बैठक गर्ने विषयमा छलफल भएको हो कि होइन भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘निस्सन्देह’ भन्दै पुष्टि गर्नुभयो । 
    “यस सम्भावित विषयबारे यसअघि पनि छलफल भइसकेको छ र त्यस्तो अवसर आउनेछ,” पेस्कोभले एएफपीलगायत पत्रकारलाई बताउनुभयो । 

    सन् १९८० को दशकमा स्थापना भएको एपेक एसिया–प्यासिफिक क्षेत्रमा आर्थिक सहयोगका लागि प्रमुख अन्तरसरकारी मञ्च हो। रुस, चीन र अमेरिका पनि यसका सदस्य हुन्।

    नोभेम्बरमा हुने शिखर सम्मेलन यस्तो समयमा हुँदैछ, जतिबेला वासिङ्टनले रुसलाई युक्रेन युद्ध अन्त्य गर्न दबाब दिइरहेको छ भने मस्को र बेइजिङबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको छ।

    अमेरिकी दूतहरूले गत साता मस्को र किएभ दुवैको भ्रमण गरेका थिए। यद्यपि, उनीहरूले युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धी वार्तामा कुनै ठोस प्रगति भएको घोषणा गरेका छैनन्।