भदौ २५, २०८३ बिहिबार

कास्की, २५ भदौः सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । 

    गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उदेश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको हो । सङ्कलित रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । 

    सार्दिखोलावासीले १४ वर्षअघि सेती नदीमा आएको विनाशकारी बाढीको पीडा आफैँ भोगेका थिए । विसं २०६९ वैशाख २३ गते शनिबारको दिन थियो । सार्दिखोलाको खारपानी बजारमा चहलपहल त्यो दिन अझ बढी थियो । सार्वजनिक बिदाको दिन भएकाले वनभोज जाने समेत प्रशस्त थिए ।

    अन्नपूर्ण चौथो हिमालबाट खसेको हिमपहिरोका कारण सेती नदीमा आएको अप्रत्याशित बाढीले सार्दिखोलाको खारपानी बजार क्षणभरमै बगरमा परिणत भएको थियो । 

    उक्त बाढीमा स्थानीयवासी तथा पर्यटक गरी ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । बाढीले खारपानी बजारका घर तथा अन्य भौतिक संरचनासहित झोलुङ्गे पुल र प्रसिद्ध तातोपानी कुण्डसमेत बगाएको थियो । बाढीले क्षति पुर्‍याएको खारपानी बजार अझै पुनःस्थापित हुन सकेको छैन ।

    आफूले विगतमा भोगेको विपद्को पीडा सम्झिँदै सार्दिखोलावासीले भोटेकोशी बाढीपीडितका लागि आफ्नो क्षमताअनुसार सहयोग गरेका हुन् ।  राहत सङ्कलन अभियानमा डाका १७ वटा टोल विकास समिति, आमासमूह, चेलीबेटी समूह, विभिन्न सङ्घसंस्था तथा स्थानीय नागरिक सहभागी भएको वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।

    उहाँका अनुसार सबै नागरिकसम्म पुगेर सहयोग सङ्कलन गर्न टोल विकास संस्थालाई परिचालन गरिएको थियो । “हामीले बाढीको पीडा आफ्नै आँखाले देखेका र भोगेका छौँ । त्यसैले भोटेकोशीसहित विभिन्न जिल्लामा विपद्मा परेका नागरिकको पीडा र दुःख यहाँका नागरिकले बुझेका छन् । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ राहत सङ्कलन अभियान सञ्चालन ग¥यौँ । त्यसमा सबै घरपरिवार सहभागी हुनुभयो”, वडाध्यक्ष आचार्यले भन्नुभयो ।
 
    विगतमा आफ्नै समुदायले बाढीको पीडा भोगेकाले अहिले विपद्मा परेका नागरिकको सहयोगमा जुट्नु मानवीय दायित्व भएको उहाँले बताउनुभयो । सङ्कलित रकममा पारदर्शिता कायम गर्न वडा कार्यालयले सरोकारवालाको उपस्थितिमा रकम सार्वजनिक गरेको थियो । 

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी उक्त रकम सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्य र कोषाध्यक्ष विपुल शर्मालाई हस्तान्तरण गरिएको थियो । सहकारी संस्थाले उक्त रकम कोषमा जम्मा गरिसकेको जनाएको छ । 

    राहत अभियानमा सहयोग गर्ने व्यक्ति, टोलविकास समिति, आमासमूह, चेलीबेटी समूह तथा विभिन्न सङ्घसंस्थाको नाम र सहयोग रकमको विवरण वडा कार्यालयले अभिलेखमा राख्ने जनाएको छ । 
 
    सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्यले सार्दिखोला र भोटेकोशीबीच भौगोलिक दूरी टाढा भए पनि विपद्को पीडा समान रहेको बताउनुभयो । 
  
    “यो सहयोग अहिलेको विपद्का लागि मात्र होइन, समुदायले विपद्का बेला कसरी एकअर्काको साथमा उभिनुपर्छ भन्ने सन्देशसमेत हो । भोलिका दिनमा देशमा जहाँसुकै विपद् पर्दा पनि समुदाय मिलेर सहयोग गर्नुपर्छ भन्ने प्रेरणा यसले नयाँ पुस्तालाई दिनेछ”, आचार्यले भन्नुभयो ।