भदौ २५, २०८३ बिहिबार

    बर्दिया, २५ भदौः सीताका आँखा अझै ओभानो हुन सकेको छैन । पति खक्काप्रसाद चौधरी भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएको आज १४ दिन बितिसक्दा उनका आँखा ओभानो हुन नसकेका हुन् ।  

    “यही भदौ १० गते भोटेकोशी बाढीका कारण मेरा श्रीमान् बेपत्ता हुनुभयो”, श्रीमती सीता थारुले गहभरि आँसु झार्दै भन्नुभयो ।    श्रीमान्को चिन्तामा पीडित सीता दिनरात टोलाएर बस्नुहुन्छ, कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नुहुन्छ कि ! सीताको अझै आशा मरेको छैन । दसैँ खर्च जुटाउनका लागि नुवाकोट जानुभएका थियो । उहाँ भन्नुहुन्छ, “घरको मुख्य व्यक्ति श्रीमान् नै बेपत्ता भएपछि सहराविहीन बनेको बताउनुहुन्छ ।” 

    सीताका दुई छोरी छन् । कञ्चन चौधरी १२ वर्षकी, कक्षा ६ मा पढ्छिन्, भने सानी छोरी शीतल चौधरी पाँच वर्षकी छिन्, बाल कक्षामा पढ्दैछिन् । सरकारले पतिको खोजी गर्न ढिलाइ गरेकामा उनलाई थप चिन्ता परेको छ ।  

    सीताका श्रीमान् खक्का बाढी आएको दुई हप्ता अगाडि मात्रै नुवाकोटको त्रिशूली ३ ‘बी’मा काम गर्न गएका थिए । बेपत्ता  खक्का लामो समयदेखि स्वदेशका विभिन्न ठाउँमा काम गर्दै आउनुभएको थियो । 

    अरुबेला उहाँले श्रीमती र कान्छी छोरी सानी भएकाले सँगै लिएर काम गर्न जाने गर्नुभएको थियो । तर, यसपटक भने उनले कान्छीलाई विद्यालय भर्न गरेकाले पढाइ बिग्रिने चिन्ताले घरमै छाडेका थिए । 

    विदेश जान खक्काले पासपोर्ट बनाइसकेका थिए । भिसा नआउँदा कमाई गर्न नुवाकोट जानुभएको थियो । “घर बनाउँदा लिएको ऋण रु पाँच लाख तीर्न बाँकी छ”, सीताले सुनाउनुभयो । 

    श्रीमान्को खोजी गर्न सीता भदौ १३ गते आफन्तसहित चितवनसम्म पुगेका थिए । दुई दिन चितवन र नवलपरासी पूर्वका विभिन्न अस्पतालमा  खोजी भयो, भेट्टिएनन् । श्रीमान्को पहिचानका लागि जिल्ला अस्पताल, गुलरियामा ठूलो छोरी कञ्चनले डिएनए परीक्षणका लागि रगत दिएका छन् । 

    मजदुरी गरी घर व्यवहार चलाउँदै आएका खक्का सानैदेखि नै टुहुरो थिए । सानोमै बुवा गुमाएका उहाँले चार वर्ष अगाडि आमा पनि गुमाइसकेका थिए । छत्तिस वर्षका खक्का सानै उमेर भएदेखि नै बाहिर मजदुरी गर्दै घर व्यवहार चलाउँदै आउनुभएको थियो । अहिले उहाँको एउटा भाई गङ्गाप्रसाद चौधरी छन्, तर छ वर्ष अगाडि अलग भएर अहिले विदेशमा हुनुहुन्छ ।

    सीताका श्रीमान् खक्काजस्तै रसुवा बाढीबाट बर्दियाका ७६ जना बेपत्ता छन् । बारबर्दियाका मात्रै २५ जना रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताउनुभयो ।
---