मुगु, २५ भदौः गमगढी– नाक्चेलाग्ना सडक लथालिङ्ग अवस्थामा पुगेको छ ।
नेपाल चीन जोड्ने उक्त नाका निर्माण सुरु गरिएको २१ वर्ष पूरा भएसँगै निर्माण सम्पन्न नभएकाले अलपत्रमा परेको हो । सडक निर्माण ढिलाइ हुनुमा डिभिजन कार्यालयमा प्रर्याप्त प्राविधिक जनशक्ति नहुनु, गुणस्तरीय निर्माण सामग्री प्रयोग नहुनु र गमगढी नाक्चेलाग्ना सडकको लागि प्रयाप्त बजेट नछुट्याइनु प्रमुख कारण हो ।
सो सडक विसं २०६२ देखि नेपाल सरकारले औपचारिक रुपमा निर्माण कार्य सुरु गरेको थियो । आजभन्दा २१ वर्ष पहिले ट्रयाक खोली निर्माण सुरु गरिएको उक्त सडक हालसम्म १८ किमी मात्र पूरा भएको छ ।
एक वर्षमा एक किमी सडक पनि निर्माण नभएपछि स्थानीयले सरकारसँग प्रश्न गर्न थालेका छन् । कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले सडक निर्माणका सम्बन्धमा सरकारसँग प्रश्न गर्ने बेला आएको बताउनुभयो । उहाँले दुर्मम तथा पिछडिका क्षेत्रमा राज्यले उपेक्षा गरेको आरोप लगाउनुभयो ।
छायानाथ रारा नगरपालिका–१२, लुम्सका स्थानीय कम्बर ऐडीले सरकारले मुगुवासीलाई उपहास गरेको जिकीर गर्नुभयो । गमगढीदेखि चीनको सिमानासम्म ९३ किमी गमगढी– नाक्चेलाग्ना सडक सिमानासम्म दूरीका हिसावले अन्य नाकाभन्दा छोटो मानिन्छ । नेपालको चीनसँग १४ वटा परम्परागत सिमाना छन् ।
गमगढी– नाक्चेलाग्ना सडकको आयोजना कार्यालय मुगुमा छ, तर, काम जुम्लाबाट गरिन्छ । सङ्घीय सरकारले नाक्च्यालाङ्ना सडक योजनाको कार्यालय आर्थिक वर्ष २०७२÷७३ मा मुगुमा स्थापना गरेको थियो । यो बहुवर्षीय योजना हो ।
चालु आवमा २४ किमी सडक निर्माण गर्ने लक्ष्य आयोजनाले लिएको छ । सडक निर्माणलाई स्थानीयस्तरबाटै प्रभावकारी रूपमा सञ्चालन गरी छिटोछरितो काम अघि बढोस् भन्ने उद्देश्यले उक्त स्थापना कार्यालय सारिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी दीपेन्द्र चौधरीले राससलाई बताउनुभयो ।
छायानाथ रारा नगरपालिका–१ का स्थानीय जयबहादुर मल्लले चीनको सिमानासम्म सडक सञ्जाल विस्तार गर्न सरकारले गरेको ढिलाइले स्थानीय उत्पादन बजारीसम्म पु¥याउन कठिन भएको बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष आयोजनाले रु १५ करोडमा ठेक्का सम्झौता गरेको थियो । माग्री भिर यो सडकको सबैभन्दा कडा चट्टान भएको क्षेत्र हो । गमगढीदेखि छाइल बजारसम्म सडक सुधारको लागि छाइल आरसिसी सडक बनाउन रु एक करोड, लुम्सदेखि छाइलसम्म पहिरो रोक्न रु ९० लाखको ठेक्का सम्झौता भएको छ ।
विसं २०६२ तिर गमगढीबाट नाक्चेलाग्नासम्मको सडक निर्माण सुरु गर्दा मुगुम कार्मारोङ्ग गाउपालिकाका बासिन्दा छिमेकी राष्ट्र चीनसँग जोडिने भयौँ भनेर खुसी भएका थिए तर, निर्माण सुरु भएको २१ वर्ष पुग्दा एक भाग सडक पनि निर्माण नभएपछि हाल बेखुसी भएका छन् ।
सडक निर्माण पूरा भएपछि चीनबाट मात्र सामान आयात होइन, नेपाली सामानले पनि चीनमा बजार पाउने विश्वास गरिएको छ । कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याफ्ने लामाले सडक निर्माण पूरा नभएकाले घोडा, खच्चर र पिठ्युँको भरमा सामान ओसारपसार गर्नुपरेको बताउनुभयो ।
तृदेशीय सडकको रुपमा हेरिएको नाग्म–गमगढी–नाक्चेलाग्ना सडक निर्माणको गति कछुवा गतिमा हुन थालेपछि स्थानीयले बाँकी काम सम्पन्न गर्न नेपाली सेनालाई दिनुपर्ने बताउँदै आएका छन् । जिल्ला समन्वय समिति, मुगुले हालै आयोजना गरेको छलफल कार्यक्रममा निवर्तमान समन्वय प्रमुख पूर्णबहादुर रोकायाले उक्त कुरा बताउनुभएको हो ।
कर्णाली प्रदेशको लाइफलानका रुपमा हेरिएको यो सडक निर्माण पूरा भई सञ्चालनमा आएपछि कर्णालीका जनता मात्र नभई, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जनताले पनि लाभ लिन सक्नेछन् । सडक निर्माण पूरा नभएकै कारण यहाँ उत्पादन हुने कोदो, फापर, उवा, जौ, रातो चामल, फलफूलका चाना, लट्टी र घरेलु उत्पादन ढोको, नाङ्लो, छाप्प्री बिक्रीमा ढुवानीको असुविधा भई खेर गइरहेको उधोग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमलबहादुर बुढाले बताउनुभयो ।