मंसिर ५, २०७८ आइतबार

दर्ताविना कुनै पनि सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी व्यवस्था छ। तर कानुनले विदेशी लगानी प्रतिबन्ध गरेको अवस्थामा भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपालमा आस्था नेपाल र पतञ्जली नामका दुई टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन्।

सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका यी दुई टेलिभिजन च्यानल उद्घाटनमा भने प्रधानमन्त्री शेरबहादुर देउवा आफैं पुगेका छन्।

मण्डिखाटारस्थित पतञ्जली योगपीठको आश्रममा शुक्रबार यी दुई टेलिभिजन च्यानल उद्घाटनमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाणलगायत सरकारका वरिष्ठ मन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरू पुगेका थिए।


विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार ‘विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायमा’ आमसञ्चारमाध्यमहरू (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) पर्छन्।

आमसञ्चार माध्यममा विदेशी लगानीलाई निरुत्साहित गर्ने गरी सरकारले बनाएको विधेयक प्रतिनिधिसभाबाट पास भएपछि ऐनका रूपमा कार्यान्वयनमा ल्याइएको थियो।

तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको पालामा यो कानुन आएको थियो। नयाँ कानुन ल्याउँदा सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ खारेज गरेको थियो।

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले यी दुई टेलिभिजन च्याल विभागमा दर्तै नभएको बताए ।

आमसञ्चार नीति २०७३ मा ‘नेपाली जनताको विचार, अभिव्यक्ति स्वतन्त्रता, राष्ट्रिय हितमा असर नपुर्‍याउने गरी पूर्वाधार र प्रविधिको विकासमा विदेशी लगानी खुला गर्नुपर्ने अवस्थामा’ विदेशी लगानीको भनेको छ।

नीतिमा भनिएको छ, ‘नेपाली जनताको विचार, अभिव्यक्ति स्वतन्त्रता, राष्ट्रिय हितमा असर नपुर्‍याउने गरी पूर्वाधार र प्रविधिको विकासमा विदेशी लगानी खुला गर्नुपर्ने अवस्थामा प्रकाशन र प्रसारण माध्यममा सम्पादकीय स्वतन्त्रताको सुनिश्चितताका लागि विशेष सर्तहरू तोकी त्यस्तो सञ्चारमाध्यममा पत्रकार, कामदार र कर्मचारी नेपाली नागरिक मात्र रहने व्यवस्था गरिने छ। विदेशी लगानीकर्ताको भूमिका निर्णायक हुने गरी लगानी प्रोत्साहन गरिएको छैन।’

२०७३ मा आएको नीतिले सञ्चारको पूर्वाधार क्षेत्रमा विदेशीले लगानी गरे पनि त्यसको सञ्चालनमा नेपाली लगानीकर्ताको नियन्त्रण हुनुपर्ने नीति लिएको थियो। तर, २०७५ मा ऐन आउँदा सञ्चार क्षेत्रमा विदेशी लगानीलाई पूर्ण रूपमा निषेधित गरियो।

ऐनले नै सञ्चार क्षेत्रमा विदेशी लगानी निषेध गरेपछि नीतिमा के लेखिएको छ भन्ने कुराको अर्थ हुन्न। नीतिमा जे लेखिएको भए पनि ऐनविपरीतको लगानी कसरी आयो भन्नेबारे सोध्दा हमालले भने, ‘आज शनिबार परेकाले मैले सबै कुरा हेर्न सकिनँ। भोलि बुझेर भनौंला।’  

यसरी कानुनले प्रतिबन्ध गरेको क्षेत्रमा रामदेवले लगानी गर्दै दुई वटा टेलिभिजन सञ्चालनमा ल्याउने बताएपछि यसले तरङ्ग ल्याएको छ।

यता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस विषयमा प्रतिक्रिया नै दिन मानेनन्। ‘पतञ्जलीकै मानिसहरूलाई सोध्नुस्, मलाई केही थाहा भएन, यसबारे म केही बोल्दिनँ, मलाई नसोध्नू,’ उनले भने।

यी दुबै च्यानल उद्घाटन भएको खबर भारतीय सञ्चारमाध्यमले महत्व दिएर छापेका छन्। केही मिडियाहरूमा यी दुई च्यानलमा दस हजार करोड भारतीय रुपैयाँ लगानी गरिने भनिएको छ।

पतञ्जलीले आयुर्वेदको प्रचार, व्यापारसँगै राजनीति गर्ने गरेको आरोप छ। पतञ्जली भारतीय जनता पार्टीनिकट रहेको दाबी गरिएको छ।