भदौ २९, २०८३ सोमबार

पूर्णप्रसाद मिश्र 

    काठमाडौँ, २९ भदौः वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने नित्य, नैमित्तिक र काम्य कर्मका विधि समावेश गरिएका कर्मकाण्ड विधानलाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी इन्टरनेटमा राखी सहज बनाइएको छ । धर्म, संस्कृतिको संरक्षणका लागि आम मानिसलाई सेवा गर्ने उद्देश्यले वैदिक अनुसन्धान गुठी (वाग्) ले कर्मकाण्ड विधिलाई सहज रुपमा ‘मोबाइल एप डाउनलोड’ गरी कर्म गर्न, गराउन सकिने गरी सार्वजनिक गरेको हो । यसका लागि वाग्का अध्यक्षसमेत रहनुभएका युवा सन्त डा स्वामी केशवानन्द गिरिको नेतृत्वमा ४० जना जनशक्तिले दुई वर्षसम्म गृहकार्य गरिएको थियो । धर्म रक्षा र वैदिक सनातन हिन्दू धर्मावलम्बीको सेवाका लागि दान दिएका दाताको करिब रु ७० लाखको लागतमा यो काम सम्भव भएको हो । 

    विश्वमै पहिलोपटक मोबाइल एपमा यो सेवा उपलब्ध गराउन सफल भएको उहाँले बताउनुभयो । यो एपको प्रयोग गरी कर्म गराउने गुरु पुरोहित र कर्म गर्ने कर्ताले समेत धर्मशास्त्रसम्बन्धी जिज्ञासा पनि राख्नसक्ने व्यवस्था मोबाइल एपमा गरिएको छ । शुक्ल यजुर्वेद, माध्यन्दिनीय शाखा सूत्र भएकाका कर्मको निर्धारण गरिने धर्मसिन्धु, निर्णयसिन्धु, याज्ञवल्क्य स्मृतिलगायत ग्रन्थमा भएको व्यवस्थाअनुसार प्रश्नकर्ताले इन्टरनेटकै माध्यमबाट सोधिएका जिज्ञासाको जवाफ पाउने डा स्वामी केशवानन्द गिरि बताउनुहुन्छ । 

    यो एपमा पात्रो (पञ्चाङ्ग) पनि राखिएको छ । सूर्य सिद्धान्त र दृग् गणना दुवै आधारमा गणित गरिएको पात्रो एपमा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा राखिएका मुहूर्त र साइतमा पनि एपमा समावेश गरिएको छ । मुहूर्त पछिसम्म हेर्न सकिने गरी एपमा राखिएको छ । दैनिक, मासिक र वार्षिक राशिफल पनि यो एप डाउनलोड गर्ने प्रयोगकर्ताले हेर्न पाउनेछन् । 

    प्रयोगकर्ताले राखेको वास्तविक समयका आधारमा सङ्कल्प पनि एपले देखाउँछ । गुरु पुरोहितले यसको वाचन मात्र गरेर कर्म गराउन सक्छन् । सङ्कल्पमा उल्लेख गर्नुपर्ने सबै विषय वास्तविक समय र स्थानका आधारमा एआईले एपमै उपलब्ध गराउँछ । यसका लागि नेपालका करिब सात हजार नदी, नालाको नाम पनि यो एपमा समावेश गरिएको छ । नेपालका तीर्थहरु पनि यो एपमा राख्ने क्रम अन्तिम चरणमा पुगेको स्वामी केशवानन्द गिरिले बताउनुभयो । 

    विश्वका मुख्य, मुख्य नदी पनि समावेश गरिएको छ । विश्वका विभिन्न भागमा रहेका अन्य नदी, नालालाई समावेश गर्ने क्रम चलिरहेको पनि उहाँले सुनाउनुभयो । विश्वको जुन कुनामा बसेर यो एपमा वास्तविक समय राखिन्छ । त्यी समय र स्थानका आधारमा एआई विधिबाट एकै छिनमा सङ्कल्प तयार भएर मोबाइलको स्क्रिनमा आउँछ । जसले गर्दा शुद्ध कर्म गराउने गुरु, पुरोहितको अभाव रहेको अवस्थामा सहज रुपमा कर्म गराउन सहयोग मिल्छ । 

    चार भाषामा कर्मकाण्ड विधि

    वेदका मूल मन्त्र संस्कृत भाषामै राखिएको छ । कर्मकाण्डको विधि भने नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी गरी चार भाषामा राखिएको छ । जसबाट विश्वको जुनसुकै कुनामा रहेका वैदिक सनातन हिन्दू धर्मावलम्बी लाभान्वित हुनेछन् । कुन कर्मका लागि पूजा सामग्री के कति चाहिन्छ ? यजमानले के के गर्नुपर्छ ? भन्ने प्रश्नको जवाफ पनि एपबाट नै पाउन सकिन्छ । कर्म गराउने ब्राह्मण र कर्म गर्ने यजमानको कर्तव्य पनि एपमा उपलब्ध गराइएको छ । कुन कर्ममा के आवश्यक पर्छ र केलाई निषेध गरिएको छ भन्ने पनि स्पष्ट रुपमा राखिएको छ । मात्रासहितको पूजा सामग्रीको जानकारी यो एपबाट पाइन्छ । गुरु, पुरोहित र यजमान दुवै थरीले हेर्न मिल्ने गरी ‘सफ्टवेयर’ विकास गरिएको छ । सुरु गरेको चार महिनाभित्रमा यसका सबै अङ्ग स्थापित हुने गुठीले जनाएको छ । 

    एपमा चान्द्रमासअनुसार तिथि राखिएको छ । गोत्र, प्रवरको सूची पनि यहीँ राखिएको छ । यो एपमा कम्पास पनि राखिएको छ । जसबाट कुन दिशा कता हो भन्ने जानकारी लिएर कर्म गराउन सहज बनाउँछ । विभिन्न तिथि, मितिलगायतको परिवर्तन (कन्भर्ट) गर्ने सेवा पनि यो एपले उपलब्ध गराएको छ । यो एप मोबाइलमा ‘डाउनलोड’ गरेर अफलाइनमा पनि कर्म गराउन सकिन्छ । तर अफलाइनमा रहेका बेला वास्तविक समय र स्थान राखेपछि आउने सङ्कल्प भने आउँदैन । यो एपमा कुण्डली निर्माणको वाग् ‘सफ्टवेयर’ पनि राखिएको छ । एआईले गर्ने फलादेश पनि यहीँबाट पाउन सकिन्छ । 

    धर्मशास्त्र र ज्योतिषसहितको यो कर्मकाण्ड ‘सफ्टवेयर’ नेपालमा मात्र नभई विश्वमै पहिलो भएको यसको निर्माणमा अहोरात्र दुई वर्ष खटिनुभएका स्वामी केशवानन्द गिरिले जानकारी दिनुभयो । यस्तो ‘सफ्टवेयर’ अहिलेसम्म भारतमा पनि बनेको थिएन । जसलाई कम्प्युटरको अत्याधुनिक प्रविधि एआईको प्रयोग गरेर निर्माण गरिएको छ । यो एआई मोडललाई ‘टे«न’ गर्न वाग्ले अमेरिकाबाट नेपाली रु १० लाख पर्ने अत्याधुनिक कम्प्युटरसमेत नेपाल भित्र्याएको उहाँले बताउनुभयो । यसका लागि वाग् अमेरिका शाखाका अध्यक्ष तुलसीराम सुवेदीले पनि सहयोग गर्नुभएको छ । 

    यो एपमा राख्न विवाह, व्रतबन्धको विधि पनि तयार भएको छ । सबै देवी, देवताका स्तोत्र पनि यही एपमा राख्न लागिएको छ । वाग्ले धर्म सेवाको मुख्य उद्देश्यले यो काम गरेकाले अहिलेलाई मोबाइलमा डाउनलोड गरी निःशुल्क उपयोग गर्न सकिन्छ । यसबाट धर्मरक्षाका साथै धर्मशास्त्रका ग्रन्थको पनि सुरक्षा हुने विश्वास गरिएको छ । यसबाट वैदिक वाङ्मयको विश्वव्यापी प्रचार पनि हुनेछ । यो काम नेपालबाटै हुनुले वैदिक ज्ञानको विश्वव्यापी नेतृत्वले नेपाल गर्नसक्ने सन्देश पनि प्रवाह हुनेछ । 

    शास्त्रीय ग्रन्थ अनुवाद गरेर एपमा राखिने

    रामायण, महाभारतलगायत पूर्वीय दर्शनका ग्रन्थको नेपाली अनुवाद गरी यो एपमा राख्नका लागि पनि काम भइरहेको छ । यसमा विद्वान्हरुले काम गरिरहनुभएको छ । स्वामी केशवानन्द गिरिले नै तयार पार्नुभएको नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषामा बनाइएको शब्दकोश पनि यो एपमा राखिने छ । एक दशकअघि उहाँले यो शब्दकोश मोबाइल र कम्प्युटरमा खोल्न सकिने गरी उहाँले तयार गर्नुभएको हो । 

    नेपालभर रहेका धार्मिक तीर्थस्थल, गुरुकुल, गौशालाको जानकारी पनि यो एपमा समावेश गरिने छ । यी सामग्री पनि एक वर्षभित्र एपमा राखिसक्ने गरी वाग्ले काम गरिरहेको छ । एपका माध्यमबाट कर्म गराउन सहज हुन्छ । मोबाइल राखेर कर्म गराउँदा पुस्तक राखेजस्तो आस्था भने नहुन सक्छ । जुनसुकै कर्म गराउन ठूला, ठूला पुस्तक बोकेर हिँड्नु पर्दैन । एप डाउनलोड गरेको मोबाइल बोके पुग्छ । मोबाइलमा आउने एपको प्रयोग गर्दा यसको पठनपाठनमा कमी आउन सक्छ । यो एपको प्रयोग गर्दा केही बेफाइदा भए पनि धेरै भने फाइदा नै छन् ।

    शुद्ध सङ्कल्प र वाक्य मोबाइल एपमै आउने भएकाले विश्वका जुनसुकै कुनामा पनि धार्मिक कृत्य गर्दा एकरुपता र शुद्धता हुन्छ । यो एपको प्रयोग नगरी पुस्तकका आधारमा कर्म गर्दा ठाउँ अनुसार कर्म गराउने विधिमा केही फरक हुने गरेको थियो । मोबाइलमा विधिका पुस्तक उपलब्ध हुँदा पुस्तक राख्ने ठाउँको आवश्यकता पर्दैन । यो एपले नयाँ पुस्तालाई धर्म, संस्कृतितर्फ आकर्षण गराउन सहयोग गर्छ । 

    देशका विभिन्न भागमा कर्मकाण्ड गराउने गुरु, पुरोहितलाई यो प्रविधिका बारेमा प्रशिक्षित गराउने योजना पनि वाग्को छ । कर्म गराउन सक्ने गुरु, पुरोहितको परीक्षा लिएर सूची पनि एपमै राखेर यजमानलाई पनि सहज बनाइने स्वामी केशवानन्द गिरिले बताउनुभयो । यसरी लिइने परीक्षा पनि अनलाइन प्रविधिबाट नै गरिने योजना पनि वाग्ले अघि सारेको छ । अनलाइन परीक्षापछि कर्मकाण्ड गराउने गुरु, पुरोहितको योग्यताअनुसारको सूची मोबाइल एपमै उपलब्ध गराइने छ । यसका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग पनि सहकार्य गर्न सकिने उहाँले बताउनुभयो । जसबाट यजमानलाई योग्य गुरु, पुरोहितका विषयमा जानकारी पाउन सजिलो हुन्छ । 

    एपको यो सुरुवाती भर्सन भएकाले यसमा सुधार गर्दै जाने स्वामी केशवानन्द गिरि बताउनुहुन्छ । विदेशमा रहेका नेपालीलाई धर्म र आस्थासँग जोड्न यसले सहज रुपमा सहयोग गर्छ । गौशाला, गुरुकुलका विषयमा एपमा जानकारी राखेपछि प्रत्येक कर्म गर्दा गोदानका रुपमा गुरु, पुरोहितले लिने दक्षिणा कर्म गरेको नजिकको गौशालालाई दिन चाहनुहुन्छ कि ? भन्ने जिज्ञासा पनि गुरु, पुरोहितलाई एपमै राखिनेछ । दिन चाहेमा अनलाइनबाट त्यो रकम दिन सकिने गरी ‘सफ्टवेयर’ विकास गरिएको छ । नजिकको गुरुकुलका विषयमा जानकारी एपमा राखेपछि सिदा गुरुकुललाई दिने कि भनी अनलाइनबाट सोधिनेछ । गुरु, पुरोहितले चाहेमा दिन सक्नेछन् । सम्बन्धित कर्मबाट प्राप्त भएको दक्षिणाको १० प्रतिशत रकम पनि ती गौशाला, गुरुकुल वा नजिकको तीर्थस्थललाई दिन चाहेमा दिन सकिने व्यवस्था मिलाइएको छ । यसका माध्यमबाट वाग्ले यो शिक्षाको सुरक्षा गर्न खोजेको हो । 

    वैदिक सनातन धर्म र संस्कृतको अध्ययन, अनुसन्धानका लागि वाग् 

    वैदिक सनातन धर्म र संस्कृत शिक्षाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गरी वैदिक वाङ्मय एवं संस्कृतभित्र निहित ज्ञानविज्ञानको महत्व दर्शाउने उद्देश्यले वाग्को स्थापना भएको हो । नेपालभित्र मात्र नभई सम्पूर्ण विश्वमा संस्कृतको महत्व बढिरहेको बेला अध्ययन, अनुसन्धान, विश्लेषण तथा खुला, पारदर्शी, न्यायपूर्ण, आत्मनिर्भर र समतामूलक समाज निर्माण गर्ने कार्यमा वैदिक वाङ्मयको सार्वकालिक, सार्वभौम तथा सार्वजनीन उपयोगिता सिद्ध गर्न गुठीले काम गरिरहेको छ । 

    यसका लागि आवश्यक अध्ययन–अनुसन्धान गर्दै वर्तमान र भावी पुस्ताका नेपाली एवं विश्व समुदायलाई समेत गुठीको उद्देश्य पूर्तिका लागि प्रोत्साहित र  अभिप्रेरित  गर्न नागरिकस्तरमा एक अध्ययन, अनुसन्धान र जागरणमूलक गुठी स्थापना गर्न आवश्यक देखिएकाले डा स्वामी केशवानन्द गिरिको सत्सङ्कल्पमा वैदिक अनुसन्धान गुठी (वाग्) नामक एक सार्वजनिक गुठी स्थापना गरिएको हो ।

    गुठीले शुक्लयजुर्वेद संहिता, अनुवाद चन्द्रिकाका चार भाग, रुद्राष्टाध्यायी, संस्कार शिक्षाका तीन भाग, दशशान्तिमन्त्र, छन्दःशिक्षा, श्रीमद्वाल्मीकी यरामायणका दुई खण्ड, वैदिक पञ्चाङ्ग र वाग् नेपाली संस्कृत शब्दकोश प्रकाशन गरिसकेको छ । यो एपको निर्माणमा सहयोग गर्नुभएका नेपाली मूलका भुटानी सुवेदी हाल अमेरिकाबाट वाग्को आश्रम गौरीघाट आएर वैदिक वाङ्मयको अध्ययनमा लाग्नुभएको छ । यो एपले वैदिक ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण गर्न सहज हुने बताउनुहुन्छ । मोबाइल फोन, ट्याब्लेट, ल्यापटपजस्ता आधुनिक उपकरण प्रयोग गर्ने नव पुस्तालाई ती माध्यमबाट हेर्न र अध्ययन गर्न सकिने एपको विकासले यसतर्फ आकर्षित गर्ने विश्वास पनि उहाँको छ । अडियो, भिडियो र पोडकास्टका माध्यमबाट वैदिक वाङ्मयका बारेमा बुझाउन पनि एपले सहयोग गर्ने विश्वास गरिएको छ । 

    अमेरिकामा कर्मकाण्ड समेत गर्ने सुवेदी बुबाको पुस्ताबा आफ्नो पुस्तामा आउँदा कर्मकाण्ड गराउने गुरु, पुरोहितको सङ्ख्यामा ५० प्रतिशतले कमी आएको सुनाउनुहुन्छ । अमेरिकाको भर्जिनिया, न्यूयोर्क र क्यालिफोर्नियाजस्ता शहरमा धेरै नेपाली र हिन्दू धर्मावलम्बी पनि भएकाले त्यस्ता ठाउँमा यो एपको महत्व हुने उहाँको विचार छ । नेपालमा क्रियाशील युवा पुस्ताका पण्डितलाई पनि यो एपले आकर्षित गर्ने देखिन्छ । गुरु, पुरोहितका रुपमा विगत दुई दशकदेखि काम गर्दै आउनुभएका कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका ४३ वर्षीय विदुर सापकोटा यो एपले किताब बोक्नुपर्ने झन्झट नहुने र सङ्कल्प एवं वाक्य पनि शुद्ध हुने भएकाले कर्म गराउन सहयोग पुग्ने बताउनुहुन्छ ।